धरान । रसियाको दक्षिणपश्चिमी क्षेत्र कजानको एक विद्यालयमा १९ वर्षीय पूर्वविद्यार्थीले गोली चलाउँदा नौजनाको ज्यान गएको छ । कम्तीमा २२ जनाजति घाइते भएका छन् ।

मंगलबार बिहान गोली चलाउँदा ७ बालबालिकासहित नौजनाको ज्यान गएको हो । गोली चलाउनुपर्ने कारण हालसम्म खुलेको छैन । चार बालक र तीन बालिकासहित नौजनाको ज्यान गएको हो । जसमा एकजना शिक्षक छन् भने एकजना स्कुलका कर्मचारी रहेको प्रहरी अधिकारीले जनाएको छ । अधिकांश बालबालिका ८ वर्षदेखि माथि १५ वर्ष मुनीका छन् । 

घाइते बनेका कम्तीमा २१ जनालाई अस्पतालमा भर्ना गरिएको छ । जसमा १८ जना बालबालिका मात्रै छन् । ६ जना गम्भीर घाइते रहेका छन् । उनीहरुको सघन उपचार भइरहेको जनाइएको छ । घटनामा संलग्न किशोरलाई नियन्त्रणमा लिइसकेको प्रहरी अधिकारीले जनाएका छन् । स्कुलका पूर्वविद्यार्थी रहेका उनले आफूले आफैलाई ‘भगवान्’ को संज्ञा दिएका छन् । हत्या गर्नुपूर्व उनले सामाजिक सञ्जालको एकाउन्टमा ‘अत्यधिक बायोमासको हत्या गर्ने’ भनी उल्लेख गरेको अनुसन्धानमा खटिएका अधिकारीले बताए । 

घटनाको विषयमा अनुसन्धान सुरु गरिएको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले यस घटनापछि तत्कालै बन्दुकसम्बन्धी कानूनलाई पुनरावलोकन गर्नका लागि निर्देशन दिएका छन् ।