प्रेस चौतारी नेपाल सुनसरीले पत्रकारका लागि विपद् कोष स्थापना गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको महामारीका बेला विपद्मा परेका र र राहत आवश्यक भएका सञ्चारकर्मीको सहयोगका लागि कोष निर्माण गर्ने निर्णय गरेको जिल्ला संयोजक शेखर ढकालले जानकारी दिए । 

आज सोमबार बिहान बसेको भर्चुअल बैठकमार्फत् चौतारीले कम्तीमा ३ लाख रुपैयाँ रकम संकलन गर्ने र कोष स्थापना गर्ने निर्णय गरेको हो । महामारीका अवस्थामा अस्पतालमा उपचारका लागि लानु पर्ने अवस्था सिर्जना भए सञ्चारकर्मीलाई आर्थिक सहायता गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।  

चौतारीले संगठन सुदृढीकरण गर्ने अभियानस्वरुप कार्यक्रम घोषणा गरेको सहसंयोजक दिनेश गजमेरले जानकारी दिए । भर्चुअल बैठकमा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ ईञ्चार्ज लीलाराज भट्टराईले विपद् कोष स्थापनाका लागि पहिले आफैंबाट रकम जम्मा गर्ने र दातालाई आह्वान गर्ने निर्णय गर्नुपर्ने बताउँदै कोषमा ५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिबद्धता गर्ने क्रममा सन्तोष काफ्ले ५ हजार ५ रुपैयाँ, दामोदर गुरागाईंले ५ हजार, रेवती निरौलाले ३ हजार, सन्जु राईले २ हजार ५ सय, वसन्त वान्तवाले २ हजार ५ सय, दिनेश गजमेरले ५ हजार, विकल पौडेलले २ हजार ५ सय ५ रुपैयाँ, शुभद्रा प्याकुरेलले २ हजार ५ सय ५ रुपैयाँ,  हिमाल दाहालले ३ हजार रुपैयाँ, शेखर ढकालले ५ हजार ५ रुपैयाँ र रोशन दाहालले ५ हजार १५ रुपैयाँ कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् । 

रकम खर्च नभए चौतारी जिल्ला समितिमार्फत् फेलोसिपको कार्यक्रम सञ्चालन गर्ने भर्चुअल बैठकले निर्णय गरेको छ ।

बैठकले पत्रकार हकहित र विद्यमान महामारीमा पत्रकार महासंघलाई कार्ययोजनासहितको ध्यानाकर्षण पत्र बुझाउने निर्णयसमेत गरेको सहसंयोजक गजमेरले बताए ।

बैठकले कोरोना संक्रमित पत्रकारहरु चन्द्र न्यौपाने, कृष्ण भट्टराई भुल्केली, पारस राईलगायतको सुस्वास्थ्य लाभको कामनासमेत गरेको छ ।