लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर संकलन गरेको छ ।
मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर संकलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताए ।
कोभिड–१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पुर्याएको छ ।
दमकको मातृका ट्रेडर्स र बिर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिए । उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्कलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने बताए । जिल्लामा आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०३ रहेको छ । मेची प्रादेशिक अस्पतालमा रहेको ७५ शैय्याको कोभिड अस्पतालमा ५० शैय्या सङ्क्रमितले भरिसकेको छ ।
अस्पतालको अनुगमन
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालको अनुगमन शुरु गरेको छ । प्रजिअ तिम्सिनाले निजी तथा सरकारी अस्पतालको अनुगमन गरेर त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितको उपचार अवस्थाका बारेमा जानकारी लिइएको बताए ।
यहाँ ४०० आइसोलेशन कक्षको व्यवस्था रहेको उनले जानकारी दिए । मेची कोभिड अस्पतालमा ७५ शैय्या आइसोलेशन र २५ शैय्या एचडियू रहेको उनले बताए ।
त्यसैगरी बी एन्ड सी हस्पिटलमा २५ शैय्याको आइसियु तथा भेन्टिलेटर र ७५ शैय्याको आइसोलेशन वार्ड सञ्चालनमा छ । मनमोहन सामुदायिक अस्पतालमा अक्सिजनसहितको १० र विर्तासिटी अस्पतालमा २५ शैय्याको कोभिड उपचार कक्ष रहेको छ ।
मनमोहन सामुदायिक अस्पतालबाहेक अरू अस्पतालको कोभिड उपचारका लागि छुट्याइएका आइसोलेशन शैय्या सङ्क्रमित बिरामीले भरिएका छन् । आइसियु र एचडियुसमेत भरिएका छन् ।
प्रजिअ तिम्सिनाले जिल्लाका १५ स्थानीय तहले पाँचदेखि ५० शैय्यासम्मका कोभिड ओइसोलेशन कक्ष स्थापना गरेको हुँदा तत्काल जिल्लामा सङ्क्रमितका लागि शैय्याको अभाव नरहेको बताए ।
उनले अनुगमनका क्रममा निजी अस्पताललाई आवश्यकताअनुसार अक्सिजनसहितका शैय्या थप गरी सङ्कटका बेला सरकारलाई सहयोग गर्न आग्रह गरिएको बताए ।
मेची प्रादेशिक कोभिड अस्पतालमा भने जनशक्तिको अभाव रहेको उनको भनाइ छ ।