काबुल/ अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ । 

अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन् । 

अफगान वायुसेनाको मद्दत समेत लिएर गरिएको त्यस कारबाहीबाट लडाकू समूहका सवारी साधन र हातहतियार बरामद गरिएको मन्त्रालयले जनाएको छ । 

सयौं सशस्त्र तालिबानी लडाकूले हालैका दिनहरुमा बाघलानलाई कब्जामा लिने उद्देश्यले आक्रमण गरिरहेका थिए । 

तर स्थानीय सेनालाई मद्दत गर्न थप सैनिक परिचालन गरी स्थिति नियन्त्रणमा लिएको सरकारको भनाई छ । 

उक्त घटनाका बारेमा तालिबान विद्रोहीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । 

नेटो र संयुक्तराज्य अमेरिकी सेनाले अफगानिस्तान छाड्नै लाग्दा युद्धग्रस्त अफगानिस्तानमा हिंसाका घटनामा लगातार वृद्धि भएका छन् । 

आगामी सेप्टेम्बर ११ भित्रै अफगास्तिानमा तैनाथ करिब तीन हजार ५०० अमेरिकी सेना र करिब ७ हजार नेटो फौज स्वदेश फिर्ता हुँदैछन् ।