कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल सङ्क्रमितको सङ्ख्या दुई करोड १८ लाख ९२ पुगेको छ । 

भारतमा लगातार तेस्रो दिन चार लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप चार हजार १८७ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या दुई लाख ३८ हजार २७० पुगेको हो । 

हाल विश्वमै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा पाँच लाख ९४ हजार तथा ब्राजिलमा चार लाख १९ हजारको ज्यान गइसकेको छ । 

भारतमा अझै पनि ३७ लाख २३ हजार व्यक्ति सक्रिय सङ्क्रमित अवस्थामा छन् । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७९ लाख ३१ हजार व्यक्ति कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोभिड–१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ । 

गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ७४ लाख व्यक्तिलाई कोभिड–१९ को खोप दिइसकिएको छ । अठार वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।

यसैबीच, बिहीबारसम्म भारतमा कोभिड–१९ को ३० करोड नमुना परीक्षण गरिएको छ । शुक्रबार एकै दिन १८ लाख  नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

- रासस/एएनआई