इलाका प्रहरीका कार्यालय धरानको व्यवस्थापन र धरान ७ वडा कार्यालयको आयोजनामा धरानको भानुचोकमा ‘हजुरको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत ५ सय वटा मास्क वितरण गरिएको छ ।

कोरोना भाइरसको विश्व भर फैलिएको नयाँ भेरियन्टको कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र धरान ७ नं. वडा कार्यालयको आयोजनामा मास्क नलगाई हिंड्ने सर्वसाधारण यात्रु, चालकलाई निःशुल्क मास्क वितरण गरिएको हो ।

आज मास्क वितरण गर्दै सचेतना गरिएको र भोलिदेखि मास्क नलगाई हिंडे जरिमाना र सजाय दुवै हुने इप्रका धरानका इन्स्पेक्टर हेमराज ओलीले बताए ।

सुनसरी जिल्ला प्रशासनले आज मध्यराति १२ बजेदेखि आगामी २४ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएको सयममा अवज्ञा गरे कानूनबमोजिम सजाय हुने इन्स्पेक्टर ओलीले बताए । सार्वजनिक यातायातमा दुरी कायम गरी र अनिवार्य मास्क लगाई यात्रा गर्न सर्वसाधारणलाई आह्वान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख इन्स्पेक्टर भुवनबाबु खड्काले बताए । उनले जोरविजोर प्रणालीलाई कडाइका साथ पालना गरिने जानकारी दिए ।

लकडाउन उल्लंघन गरे यस्तो सजाय निषेधाज्ञा उल्लंघन गरे कानुन बमोजिम कारबाही हुने छ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

संक्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।