फुटबल खेलको विकासका लागि सामुदायिक स्वयम् सेवकका रुपमा धेरै युवाहरुले आफ्नो मिहिनेत र पसिना बगाइरहेका छन् । व्यवसायिक रुपमा उभिन नसकेका तर फुटबलको विकासका लागि अहोरात्र खटिएका युवाहरु गाउँगाउँमा छन् । सुनसरी जिल्ला फुटबल संघले सामुदायिक प्रशिक्षकहरुलाई व्यवसायिक रुपमा उभ्याउने प्रयासका साथ एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु गरेको छ । यो व्यावसायिक रूपमा अघि बढ्नका लागि प्रशिक्षकहरुको पहिलो खुड्किलो हो । उदयपुर, खोटाङ, सोलुखुम्बु र सुनसरी जिल्लाका विभिन्न स्थानमा रहेर फुटबल खेलको विकासमा अहोरात्र खटिरहेका सामुदायिक प्रशिक्षकहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले धरानस्थित टेक्निकल सेन्टरमा एन्फा कम्युनिटी कोचिङ कोर्स– २०७७ बीच प्रशिक्षित गर्दै छ । चार दिने कोचिङ कोर्समा विभिन्न जिल्लाका ३० जना प्रशिक्षकहरुले सहभागिता जनाएका छन् । सोमबार एन्फा टेक्निकल सेन्टर धरानमा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईको प्रमुख आतिथ्यतामा औपचारिक समारोहको आयोजना गर्दै एन्फा कम्युनिटी कोचिङ कोर्स २०७७ को उद्घाटन गरिएको छ । समारोह उद्घाटनपछि बोल्दै प्रमुख अतिथि एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले अब प्रशिक्षकहरुलाई समुदायमा स्वयम् सेवकका रुपमा मात्र होइन व्यवसायिक रुपमा विकास गर्न एन्फा लागि परेको बताए ।

उद्घाटन सत्रमा प्रमुख अतिथि राईसँगै राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्र राई, हेड अफ कोच एजुकेशन संजित सिंहलगायतका फुटबल खेलका संघसंस्थाका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता थियो ।

सुनसरी जिल्ला फुटबल संघका उपाध्यक्ष नवीन राईको सभाध्यक्षतामा महासचिव भेषराज कार्कीले कार्यक्रमको संचालन गरेका थिए ।

भिडियोः प्रदीप चौधरी