अष्ट्रेलियाको राजधानी क्यानबेरा नेपाली जातीको गौरवमय उत्सव ‘सोनाम ल्होछार’का अवसरमा झकिझकाउ बन्यो । क्यानबेराको ब्ल्याक माउन्टेनस्थित पेनसुलमा पानसमा बत्ती बालेर भगवान् गौतम बुद्धको पूजा अर्चना भयो ।   

डम्फू र तामाङ भेषभूषामा सजिएका  युवा–युवतीको सामुहिक नाचगानलाई स्थानीय अष्ट्रेलियनले अति चासो र रमाइलोका साथ अवलोकन गरे ।  

nischal-australia1

तामाङ सोसाइटीले उल्लासमय रूपमा आयोजना गरेको सोनाम ल्होछारमा नेपाली जाति, समुदायको वीर गाथा, समृद्ध सांस्कृतिक पहिचानलाई देशविदेशमा प्रचार–प्रसार गर्न सकिएकामा सहभागी गौरवान्वित बने । 

ल्होछारका अवसरमा आयोजित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा अष्ट्रेलियास्थित आवासीय राजदूत महेशराज दाहालले नेपालको एकीकरण, एकता र भाइचारामा तामाङ समुदायको अति महत्वपूर्ण भूमिका रहँदै आएको उल्लेख गरे । 

nischal-australia2 1

‘हामीले नेपाली भाषाका अलवा नेपालमा बोलिने मातृभाषाको विकास र विस्तारमा समेत ध्यान  दिनु पर्छ,’ राजदूत दाहालले भने, ‘हाम्रो  भाषा र संस्कृतिलाई भोलिका पिंढीले पछ्याउने बनाउनुपर्छ ।’  

उत्सवमा तामाङ सोसाइटी न्युसाउथवेल्थ राज्यका सभापति दोर्जेमनी तामाङले क्यानबेराका विद्वत वर्गका साथ लोसार मनाउन पाएकोमा हर्ष व्यक्त गरे ।

सोसाइटीका सल्लाहकार डा. कृष्ण हमालले नेपाली समुदाय ४ वर्ण ३६ जातको फूलबारी भएको बताउँदै यस भित्रको सुन्दर र सुगन्धित फूलमा तामाङ समुदाय पर्ने बताए । हमालले सद्भाव र भाइचाराबाट सबै जात र जनजातिको भेष–भाषाको विकास गराउनु पर्ने विचार राखे । 

nischal-australia3

समारोहमा तामाङ सोसाइटी एनएसडब्लु पूर्व सभापति तथा सल्लाहकार एनआर एनएसडब्लुका अभियान्ता  तथा  गीतकार दिल तामाङ र क्यानबेराका युवा कलाकार  सुुनिल गुरूङले सहभागीलाई मनोरञ्जन दिलाए । 

क्यानबेराका नेपाली समुदाय एनआरएनएका उपाध्यक्ष चुडामणि  सापकोटा, एएनएफएसका अध्यक्ष आदर्शजंग पाण्डे, सिएनएफसीका अध्यक्ष सुरज पौडेल, आरएनसीएफका अध्यक्ष  सुशील पोखरेल, सनातन समाजका अध्यक्ष सन्तोष मल्ल र अन्य वुद्विजीवी तथा नेपाली समुदायको उल्लेख्य सहभागिताका बीच समारोह सम्पन्न भएको थियो । 

ल्होछार उत्सवको सभापतित्व क्याबेरा तामाङ सोसाइटीका अध्यक्ष राजु तामाङले गरेका थिए । कार्यक्रमको उद्घोषण जस्मिन दाहालले गरेकी थिइन् ।