सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका वडा नं. ४ र ५ मा अवस्थित अमाह सामुदायिक वन उपभोक्ता समितिले छैठौं साधारण सभा सम्पन्न गरेको छ । समितिले आर्थिक वर्ष २०७६÷७७ मा १ करोड ३२ लाख १८ हजार २ सय ४५ रुपैयाँ ३४ पैसाको आयव्यय विवरण सार्वजनिक गरेको छ । सामुदायिक वनले विगतको ५ वर्षको समीक्षा गर्दै प्रशासनिक, वन संरक्षण र जनचेतना, वृक्षरोपण, साधारण सभा र मासिक बैठक दण्ड जरिवाना, विकास निर्माण प्राकृतिक प्रकोप र विपन्न परिवार साथै संघसंस्थालाई सहयोगका सम्बन्धमा प्रगति र समीक्षा प्रस्तुत गरेको अध्यक्ष भोजराज घलेले जानकारी दिए । साधारण सभामा ९ जना उपभोक्तालाई लक्की ड्रमार्फत प्रेसर कुकर र १ जनालाई इलेक्ट्रोनिक ग्यास चुलो प्रदान गरिएको थियो । उपभोक्ताका १६ वटा टोलमध्ये वराहक्षेत्र ४ स्थित तल्लो आन्द्रमोठका २ छात्रछात्रालाई कम्प्युटर शिक्षामा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको टोलका अध्यक्ष बच्चुलाल चौधरीले जानकारी दिए । सभामा ५ वर्षको प्रगति समीक्षा अध्यक्ष घलेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरिता विष्टले प्रस्तुत गरेकी थिइन् । डिभिजन वन कार्यालय सुनसरीका प्रमुख दानबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा गरिएको थियो । ********* वि.सं. २०७० सालमा २८ लाख बढी लगानीमा पुर्नजीवन पाएपछि अमाहा सिमसार प्रदेश १ कै नमूना सिमसार क्षेत्रका रुपमा स्थापित हुने क्रममा छ । जिल्ला वन कार्यालय सुनसरीले दिएको २ लाख रुपैयाँ बजेटले केही नहुने भएपछि समुहले ऋण काढेर लगानी गर्न सुरु गर्यो । अहिले अमाहा सिमसारमा घुम्न, बोटिङ गर्न र पिकनिक खान धेरैतिरबाट आन्तरिक पर्यटकहरू पुग्न थालेपछि स्थानीयहरु खुसी छन् । अमाह पोखरी तथा सिमसार र यहाँको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई लोभ्याउँछ । दिनमा डेढ, २ सय पर्यटकहरू आउने गर्छन् । वन समूहले २ वटा फाइवरको स्वान बोट र ३ वटा काठको डुंगा पर्यटकहरूको लागि पोखरीमा राखेको छ। घुम्न आउने पर्यटकहरू पैसा तिरेर बोटिङ गर्छन्। स्थानीयका होटल, पसलको बिक्री पनि बढेको छ। पोखरीको बीचमा टापुे छ, जहाँ अमाह जलदेवीको थान छ । घुम्न आउने पर्यटकहरूले त्यहाँ पूजा पनि गर्छन् । जलदेवीलाई कागजको घोडाफूल र पानको पातमा फूलपाती बेरेर चढाउने चलन छ। त्यहाँ पूजाआजा गर्नाले मनोकांक्षा पुरा हुने, दुःख विमार तथा रोगव्याधीले नसताउने जनविश्वास छ। अमाहा वन क्षेत्र २ सय ३ हेक्टर भएपनि सिमसार खण्ड भने मात्र ५२ हेक्टर छ। पोखरीले डेढ हेक्टर आगटेको छ । अमाह पोखरी बनेपछि यहाँ विभिन्न प्रजातिका चराहरू आउन थालेका छन् । वन समूहले गुरुयोजना बनाएर पर्या–पर्यटन विकासको अवधारणा अघि सारेको छ । अमाह सिमसार क्षेत्रमा चिल्ड्रेन पार्कसहित थप पोखरी निर्माण कार्य पनि अघि बढाउने समूहको उद्देश्य छ । अमाहा पोखरी र आसपासको वनक्षेत्रमा चिम्पाङ्जी, सालक, गोही र डल्फिनलगायत जीवजन्तुको मुर्ति पनि राख्ने योजना छ । सिमसार संरक्षणको साथै पर्या–पर्यटनको विकास र प्रर्वद्धन अमाह सामुदायिक वन समूहले नेतृत्व गरिरहेको छ। यसमा स्थानीय एवं वन समूहका सदस्यहरूले पनि होस्टेमा हैसै गरेका छन्। समुदायले संरक्षण गरेको घना जंगल र मानव वस्तीको बीचमा अवस्थित छ, अमाह पोखरी। पोखरी मात्र डेढ हेक्टर क्षेत्रफल(करिब २ बिघा)मा फैलिए पनि सिमसार क्षेत्र भने ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका ४ र ५ मा पर्ने यही अमाह सिमसार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बनिरहेको छ।