धरान/ कक्षा १२ को परीक्षाको नजिता एक साताभित्रै आउने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले तथ्याङ्क प्रविष्ट (इण्ट्री) गर्ने काम ४० प्रतिशत सकिएकाले अब चाँडै नै परीक्षाफल प्रकाशित हुने जनाए । उनका अनुसार नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ । 

विद्यालयबाट प्राप्त नतिजाको तथ्याङ्क प्रविष्ट गरेर रुजु गर्ने काम भइरहेकाले चाँडै नै परीक्षाफल प्रकाशित हुने उनले जानकारी दिए । यसपटक बोर्डले कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा सञ्चालन गरेको थियो ।

कोरोना महामारीका कारण परीक्षाको मिति थुप्रै पटक सरेकाले पनि यसपटक बोर्डले १०० पूर्णाङ्कमा ४० पूर्णाङ्कको मात्रै परीक्षा लिएको हो । अन्य ४० पूर्णाङ्क कक्षा ११ को परीक्षाको मूल्याङ्कनबाट गरिने भएको छ भने २० पूर्णाङ्कको अधिकार विद्यालयलाई नै दिइएको छ । 

विद्यालयहरूले आफूहरूले पठाउनुपर्ने जिम्मेवारी ढिला गरी आएकाले एकसातामा प्रकाशित गर्ने तयारी भएको उनले जानकारी दिए । बोर्डले पुस महिनाभित्रै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।

यसपटक कक्षा १२ मा ४ लाख ३१ हजार परीक्षार्थी सहभागी बनेका थिए भने चार हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिडको महामारीका कारण यसपटक तोकिएको मितिमा परीक्षा हुन सकेको थिएन । थुप्रै पटक बोर्डले परीक्षाको मिति तय गर्दै सार्दै आएको थियो ।