ताप्लेजुङ/ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सबै वडाका आठजना विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेपछि अभिभावकमा खुसी छाएको छ । 

चालु शैक्षिक सत्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीलाई गाउँपालिकाले पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । गाउँपालिकाले कृषि तथा पशु विज्ञान विषयमा प्रवीणता प्रमाण–पत्र तहसम्म पढ्ने गरी छात्रवृत्ति प्रदान गरेको हो । गाउँपालिकाले ‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नाराअन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाले छात्रवृत्ति दिएको हो । गाउँपालिकाले सातौं गाउँसभाले निःशुल्क शिक्षा हामी सबैको इच्छा कार्यक्रममा बजेट स्वीकृत गरी लागू गरेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए । 

गाउँपालिकामा ८ वटा वडा छन् । हरेक वर्ष वडाका एक–एक जनालाई पूर्ण छात्रवृत्तिमा पढाउने योजना रहेको अध्यक्ष गुरुङले बताए । चालु शैक्षिक सत्रमा वडानम्बर १ सिनामबाट सर्मिला सार्की, वडानम्बर २ आम्बेगुदिनबाट मीना भट्टराई, वडानम्बर ३ सिकैचाबाट सुमना लक्सम्बा, वडानम्बर ४ तेल्लोकबाट मुकेश माबो, वडानम्बर ५ पेदाङबाट प्रतिमा सिलिम्बो, वडा नम्बर ६ मामाङ्खेबाट लाजेहाङ लिम्बू, वडानम्बर ७ खेवाङबाट रोमन दाहाल, वडानम्बर ८ याम्फुदिनबाट ताङ्साङ राईले छात्रवृत्ति पाएका हुन् ।

उनीहरूमध्ये चारजनाले इलामको रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्यूटमा पशु विज्ञान विधामा प्रवीणता प्रमाण–तहसम्म अध्ययन गर्नेछन् भने ४ जनाले सिनामस्थित सिनाम माविमा कृषि विज्ञान विधामा अध्ययन गर्नेछन् ।

गाउँपालिकाले पशुु विज्ञान विधामा पढ्ने ४ जनाको पहिलो वर्षका लागि मासिक शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा दस्तुर र भर्ना शुल्क गरी प्रतिविद्यार्थी ६७ हजार ५ सयका दरले जम्मा २ लाख ७० हजार सम्बन्धित संस्थामा जम्मा गरेको छ भने कृषि विज्ञान विधामा पढ्ने ४ जनाको समेत पहिलो वर्षका लागि २ लाख ७४ हजार ४ सय बुझाइसकेको छ ।

यस्तै आवास र खाना खर्च बापत प्रतिविद्यार्थी मासिक ७ हजार ५ सय चौमासिक रूपमा सम्बन्धित विद्यार्थीको बैङ्क खातामा सिधै जम्मा गरिदिने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । यता स्टेशनरी र पोसाकका लागि प्रतिविद्यार्थी वार्षिक १०–१० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।

‘सिरिजङ्घावासीलाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिको बोध गराउन नीतिगत रूपमा थुप्रै कार्यक्रम तय गरेका छौं, तीमध्ये प्राविधिक शिक्षा हासिल गर्न इच्छुक सबै वडाका विद्यार्थीलाई दिइने पूर्ण छात्रवृत्ति कार्यक्रमले जेहेन्दार विद्यार्थीलाई सहयोग पुग्नुका साथै स्थानीयस्तरमा नै प्राविधिक जनशक्तिको उत्पादन हुने र नयाँ–नयाँ प्रविधिको अवलम्बन हुने हाम्रो ठम्याइ छ’–गाउँपालिका अध्यक्ष गुरुङले भने । 

आगामी वर्षहरूमा पनि यसैगरी हरेक वडाबाट एक–एक जनाले प्राविधिक शिक्षाका लागि छात्रवृत्ति पाउनेछन् । छात्रवृत्तिसम्बन्धी कार्य प्रक्रियालाई व्यवस्थित गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ३ सदस्यीय छात्रवृत्ति व्यवस्थापन समिति रहने कार्यविधिमा उल्लेख छ । हरेक वर्ष एसईई परीक्षाको नतिजापछि कम्तिमा १५ दिनको म्याद दिई कार्यविधि बमोजिम उपलब्ध गराइने छात्रवृत्तिका लागि योग्य विद्यार्थीबाट आफ्नो वडाभित्रका सामुदायिक विद्यालय (माध्यमिक विद्यालय स्तर) मार्फत् दरखास्त आह्वान गर्नुपर्ने समेत कार्यविधिमा उल्लेख छ । गाउँपालिकाले पूर्ण छात्रवृत्तिसहित प्राविधिक शिक्षाको अध्ययन गर्ने वातावरण सिर्जना गरेपछि यहाँका विद्यार्थीलाई पनि हौसला मिलेको छ । 

प्लस टुको पढाइ निःशुल्क 

यता गाउँपालिकाले कक्षा ११ र १२ को अध्ययनलाई निःशुल्क बनाएको छ । गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई यसै वर्षदेखि निःशुल्क अध्यापन गराउने भएको हो । 

निःशुल्क शिक्षा, हामी सबैको इच्छा कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पारित गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेको गाउँपालिकाले जनाएको छ । संविधानमा व्यवस्था भएको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्दै आफ्नो क्षेत्रका नागरिकलाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिको बोध गराउने उद्देश्यले उक्त व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।

भर्ना शुल्क, रजिष्ट्रेशन र परीक्षा दस्तुर बापत वार्षिक १ हजार ५ सय रुपैयाँ र मासिक शुल्क ४ सय रुपैयाँ सम्बन्धित विद्यालयमार्फत् उपलब्ध गराउने बताइएको छ । यस्तै यहाँका हरेक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालबालिकालाई भने बर्सेनि पोसाक र स्कुल ब्याग निःशुल्क उपलब्ध गराइने भएको छ । 

गाउँपालिकाभित्र हाल कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १६ सय ९ रहेको छ । पोसाक, स्कुल ब्याग र जुत्ताका लागि प्रतिविद्यार्थी वार्षिक २५ सय रुपैयाँ खर्च हुने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । यता कक्षा १० का सबै विद्यार्थीलाई एसईईको तयारी कक्षासमेत सञ्चालन गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । अङ्ग्रेजी, गणित र विज्ञान विषयको तयारी कक्षा सञ्चालन गरिने भएको हो ।

यसले एसईईको नतिजामा सुधार आउनुका साथै राम्रो विषयको अध्ययनका लागि मद्दत पुग्ने गाउँपालिकाको विश्वास छ । भूगोल, निम्न वर्ग तथा गरिबीका कारण गाउँपालिकाका कुनै पनि बालबालिकाहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर शैक्षिक क्षेत्रको उत्थान र विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।