धरान/पचासको दशकमा कलिउड उद्योगमा छाएकी अभिनेत्री मौसमी मल्ल ब्लकबस्टर सम्मानबाट सम्मानित भएकी छन् । टच इण्टरटेन्मेण्ट, स्पर्श फिल्म्स तथा पेजेण्ट नेपाल इण्टरनेशनल मिडियाले शनिबार उनलाई ब्लकबस्टर अवार्डबाट सम्मानित गरेको हो । 

काठमाडौंमा पहिलो पटक गरिएको ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ कार्यक्रममा थुप्रै विधामा कलाकार तथा सर्जकलाई सम्मानित गरिएको छ । आयोजकका अनुसार ५० विधामा अवार्ड वितरण गरिएको हो । दर्जनौं फिल्म खेलेकी मल्ल नेपाली फिल्ममा तीन दशक राज गरेकी थिइन् ।

उनले आफू कामप्रति समर्पित रहे पनि आजसम्म आफूलाई कसैले सम्मान नगरेको स्मरण गरिन् । तर, स्पर्शको अवार्डबाट सम्मानित हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । त्यसक्रममा वरिष्ठ सङ्गीतकार शिलाबहादुर मोक्तान तथा गायिका कुन्ती मोक्तानलाई सदावहार साङ्गीतिक जोडीको रूपमा सम्मानित गरियो । मनोरञ्जन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार कृष्ण भट्टराईलाई उत्कृष्ट पत्रकारका रूपमा पुरस्कृत गरिएको छ ।