पथरी/ मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रको सार्वजनिक र संस्थागत विद्यालयहरु आज बुधबारदेखि खुल्ने भएको छ ।

सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेपछि आजदेखि खुल्ने भएको हो । गाउँपालिका शिक्षा शाखाले गत सोमबार सार्वजनिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला गराई विद्यालय सञ्चालन सम्बन्धी छलफल गरको थियो ।

विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ अन्तरगत रहेको ७ वटा विकल्पहरु मध्ये आफ्नो विद्यार्थीको संङ्ख्या र उपलब्ध भौतिक पूर्वाधार व्यवस्थापनमा सहज हुने गरी विकल्प रोजेर सञ्चालन गर्न शिक्षा शाखाले निर्देशन गरेको छ । शिक्षक, अभिभावक र व्यवस्थापन समिति सँग विद्यालय सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेर निर्णय गरी गाउँपालिकाको शिक्षा शाखा पेश गरी स्वीकृती लिएर मात्र विद्यालय सञ्चालन गनुपर्ने शिक्षा शाखाका प्रमुख वेग प्रसाद काफ्लेले बताए ।

अहिले कानेपोखरी गाउँपालिकामा कोरोना भाइरसको संक्रमण अन्यको तुलनामा कम हुँदै गइरहेको छ । पालिका क्षेत्रमा संक्रमण बढेमा विचैमा पनि फेरी विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्लेले बताए । विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरु भने पूर्णरुपमा पालना गर्नुपर्नेछ । त्यसको अनुगमन स्थानीय सरकार आफैले गर्न सक्नेछ ।

यस क्षेत्रमा एउटा बहुमुखी क्याम्पस सहित २३ वटा सार्वजानिक विद्यालय र २० वटा संस्थागत विद्यालय सञ्चालनमा रहेको छ । यस अघि कोभिडको कारण बन्द रहेको विद्यालय संक्रमण कम भएपछि १५ दिन सञ्चालन भएको थियो । १५दिन सञ्चालन भए पनि विद्यालयमा विद्यार्थीको संख्याभने ४० प्रतिशत मात्र उपस्थीत रहेका थिए । सार्वजनिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले शैक्षिक सत्र सुरुमै किताब र कपी खरिद गरि सकेको छ ।