इनरुवा/ कोशी गाउँपालिकामा मङ्सिरको दोस्रो साताबाट विद्यालय खुल्ने भएको छ । कोरोना महामारीपछि बन्द रहेका विद्यालय कोशी गाउँपालिकाले मङ्सिर १४ गतेबाट खुल्ला गर्ने सर्वपक्षीय भेलाले निर्णय गरेको हो ।

गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको भेलामा स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने वातावरण मिलाएर विद्यालय खुलाउने सहमति जुटाएका हुन् । शिक्षा शाखा प्रमुख सोमराज ढकालका अनुसार केन्द्रको निर्देशनको परिधिभित्र रही विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।

विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य मापदण्ड पालनाको विषयलाई कडाइका साथ कार्यान्वयनमा ल्याइने ढकालले बताए । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले कोरोना महामारीका कारण ठप्प बनेका शैक्षिक संस्थाहरूको पठन–पाठन स्वास्थ्य सावधानी अपनाई सञ्चालनमा ल्याउन लागिएको बताए ।

अध्यक्ष अन्सारीका अनुसार पूर्वाधार सम्पन्न विद्यालयहरूले भौतिक दूरी कायम गरी सबै कक्षा एकसाथ सञ्चालनमा ल्याउन पाउनेछन् । पूर्वाधार अपुग रहेका विद्यालयको हकमा भने बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । पठन–पाठनको क्रममा मास्क र भौतिक दूरी अनिवार्य गरिएको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीका अनुसार गाउँपालिकाभित्र रहेका सबै विद्यालयलाई सेनिटाइजरको साटो साबुन पानीको बन्दोबस्त अनिवार्य गराउन निर्देशन दिइएको छ ।