विजयपुर । कोरोनाका कारण लामो समयदेखि बन्द भएका भोजपुरका शैक्षिक संस्थाहरु खुल्न थालेका छन् ।
विद्यालयहरु खुलेपनि अभिभावकहरु आफ्ना छोराछोरीलाई शिक्षकहरुबाटै कोरोना संक्रमण हुने डरले त्रसित छन् ।
शिक्षा समन्वय इकाई भोजपुरले दिएको जानकारी अनुसार भोजपुरका ९ वटा स्थानीय तहमा ६ वटा स्थानीय तहका शैक्षिक संस्थाहरु सञ्चालनमा आएका छन् । त्यसमध्ये ५ वटा स्थानीय तहका शैक्षिक संस्थाहरु दशै अगाडीदेखि नै सञ्चालन भइरहेका थिए । दशैँ पछाडी टेम्के मैयुङ गाउँपालिकाका विद्यालयहरु सञ्चलानमा आएका छन ।
भोजपुर जिल्लाका ९ स्थानीय तहमध्ये अझै पनि ३ वटा स्थानिय तहका विद्यालयहरु पुर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । भोजपुर जिल्लाका साल्पासिलिछो र अरुण गाउँपालिका साथै षडानन्द नगरपालिकाका विद्यालयमा बैकल्पिक प्रणालीबाट पढाइ भइरहेको शिक्षा समन्वय इकाइ भोजपरका सुचना अधिकारी तोत्र खड्काले जानकारी दिएका छन् ।
लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थीहरु हर्षित हुँदै विद्यालय जान थालेका छन । बालबच्चाहरु विद्यालय जानथाले पनि अभिभावक भने त्रसित छन् । गाउँघरमा कोरोना भाइरसको जोखिम कमभएपनि बाहिरबाट शिक्षकहरु आउनेहुँदा कोरोना भाइरस सर्न सक्ने अभिभावकहरुले बताएका छन् ।
अभिभावक माया कोइरालाले तराईतिरबाट आउने शिक्षकहरु पिसिआर टेष्ट गरेर आउनुपर्ने वा चेक नगरी आउनेले १४ दिन होम क्वारेन्टाइन पश्चात कक्षामा गए जोखिम कम हुने बताइन । त्यस्तै अर्का अभिभावक सञ्जय श्रेष्ठले पनि शिक्षकसँग भाइरस रहेको छ भने अन्य विद्यार्थीमा सर्न सक्ने बताउँछन् । उनी भन्छन् ‘१४ दिन सम्म हाम क्वारेन्टाइनमा बसे राम्रो हुन्थ्यो ।’
अन्य अभिभावकहरुले पनि त्रसित हुँदै विद्यालय पठाएको वताएका छन् । यस विषयमा श्री विद्येश्वर माध्यामिक विद्यालय गोगने प्रध्यानाध्यापक हर्कबहादुर राइलाईसँग बुझ्दा स्कुलमा अनिवार्य स्यानिटाइजर मास्कको व्यवस्था गरेको बताए । उनले बाहिर तराई तिरबाट आउने शिक्षकहरुलाई स्वास्थ्यको मापदण्ड पुरा गरेर मात्रै कक्षा पठाउने बताएका छन् ।