धरान । कोरोना संक्रमित व्यक्ति सार्वजनिक स्थानमा हिड्डुल गरेको पाइएमा प्रहरीलाई खबर गर्न जिल्ला प्रसासन कार्यालय सुनसरीले आम नागरिकलाई आग्रह गरेको छ ।

विहीबार सूचना जारी गर्दै प्रसासनले त्यस्ता व्यक्तिलाई तत्काल कारबाहीका लागि पेश गर्नका लागि जिल्ला प्रहरी कार्यालयलाई मातहतका सबै युनिटलाई निर्देशन दिन पनि भनेको छ । सूचनामा भनिएको छ, ‘पोजेटिभ रिपोर्ट आउँदा आउँदै जो कोहि सार्वजनिक स्थानमा हिडडुल गरेको पाइएमा संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा अन्य प्रचलित कानुन अनुसार कारबाही गरिने छ ।’

कोरोना पोजिटिभ रिपोर्ट आएपछि स्वास्थ्य प्रोटोकल पालना गरी होम आईसोलेसनमा बस्नु पर्नेमा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु डाक्टर, इन्जिनियर, कर्मचारी, सामाजिक कार्यकर्ता लगायत नै जथाभावि सार्वजनिक स्थानहरुमा घुमफिर गरिरहेको सूचना आएको जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्त महेशकुमार पोख्रेलले जनाएका छन् ।