पथरी/ मोरङको कानेपोखरी जङ्गलबाट इलाका प्रहरी कार्यालय पथरीले जीपमा राखेर पथरी लाँदै गरेको मृत चित्तलसहित एक जनालाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी–७ स्थित छधारे पूर्वबाट पथरीशनिश्चरे–१ बस्ने शम्भु बुढाथोकीलाई इप्रकाका डिएसपी दिलिपकुमार गिरीको गस्ती टोलीले पक्राउ गरेको हो । मङ्गलबार सूचनाको आधारमा प्रहरीले बुढाथोकीले प्रयोग गरेको प्रदेश १–०२००२ च ३७०० नं. को महेन्द्रा कम्पनीको कालो जिप र सोही जिपमा राखेर ल्याएको लगभग ३० केजीको पोथी हरिण मध्यान्ह १ बजे पक्राउ गरेको डिएसपी गिरीले बताए । पक्राउपछि इप्रका पथरीले मुचुल्का बनाएर कारबाहीको लागि मृत चित्तल र शम्भु बुढाथोकीलाई सब डिभिजन वन कार्यालय कानेपोखरीमा अपरान्ह ४ बजे बुझाएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको जिप भने इप्रका पथरीमै राखिएको छ । अनुसन्धान गरी कारबाहीको लागि बुढाथोकीलाई सव–डिभिजन कार्यालय बेलबारीको हिरासतमा राखिएको सव–डिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत तुलसीदास यादवले बताए ।

अधिकृत यादवका अनुसार बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तर्गत मुद्दा चलाउने तयारी रहेको बताए । कानेपोखरी चोकदेखि पूर्व राजमार्गमा सवारी साधनको ठक्करबाट चित्तलको मृत्यु भएपछि चित्तल लिन पथरीबाट जिप ल्याएर बुढाथोकीले उठाएर लगेको हुन सक्ने बताए पनि सत्य–तथ्य के हो भन्ने बारेमा अनुसन्धान भइरहेको वन अधिकृत यादवले बताए ।