विराटनगर/ सुनसरीको बर्जु गाउँपालिका–५ बेलहाकी एक सुस्त मनस्थितिकी महिलाको हत्या रहस्यमय बन्दै गएको छ ।

३० वर्षीया सीताकुमारी चौधरीको शव माइती घरदेखि करिब १ सय मिटर उत्तर ग्रामथान मन्दिरको चौरमा कात्तिक ९ गते भेटिएको थियो । उनको अनुहारमा गहिरो चोट र रगत लत्पतिएको अवस्थामा शव फेला परेकोले हत्या गरी फालेको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । सीता केही दिनयतादेखि माइतीमा बस्दै आएकी थिइन् । उनको घर पनि बर्जु गाउँपालिका–५ नम्बर वडामा नै पर्दछ ।

सुस्त मनस्थितिकी सीता कात्तिक ८ गते साँझदेखि घरबाटै हराएको बाबु कुसेश्वर चौधरीले बताए । ‘दशैं पर्व भित्रिएको थियो’ सीताका बाबु कुसेश्वरले भने, ‘अष्टमीको दिनदेखि छोरी हराइन् । राति अबेरसम्म खोज्यौं, कतै पनि छोरीलाई भेटेनौं । अरू बेला पनि दिनभरि छोरी हिँडडुल गरेर साँझ घरमा आउने गरेकी थिइन् । तर, त्यस दिन आइनन् । भोलिपल्ट छोरीको रक्ताम्मे लाश देख्नुप¥यो ।’ कुसेश्वरका तीन छोरा र एक जना मात्र छोरी हुन् । पाँच वर्षअगाडि सीताको बर्जु गाउँपालिकाका सञ्जीत चौधरीसँग विवाह भएको थियो । विवाह भएपछि सीताको मानसिक सन्तुलन गुमेको माइती पक्षको भनाइ छ । सीताको ४ वर्षीया र १ महिनाको छोरी छन् ।

दोषीलाई कारबाही गर्न माग
सीताको शव भेटिएको एक साता बितिसक्दा पनि प्रहरीले अहिलेसम्म घटनामा संलग्नलाई पक्राउ गरेको छैन । मृतकका आफन्त र स्थानीय जनप्रतिनिधिहरूले सीताको हत्या भएकोले सूक्ष्म तरिकाले अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । शरीरमा निलडाम र अनुहारमा गहिरो चोट लागेकोले हत्या भएको बर्जु गाउँपालिका–५ का वडाध्यक्ष किशोरकुमार चौधरीको दाबी छ । उनले घटनाको निष्पक्ष छानबिन गरी संलग्नलाई हदैसम्मको कारबाही गरिनुपर्ने माग गरे ।

‘शरीरभरि चोटपटक लागेको छ, मन्दिरको मैदानमा रगत लत्पतिएको छ । टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रयोग गरेको स्पष्ट देखिन्छ । यसलाई सामान्यरूपमा मृत्यु भएको कसरी भन्न मिल्छ ?’ उनले भने, ‘सीताको टाउकोमा धारिलो हतियार प्रयोग गरिएजस्तो गहिरो चोट लागेको छ । शरीरभरि निलडाम छ, विभिन्न भागमा घाउ लागेका छन्, यो हत्या नै हो, सूक्ष्म अनुसन्धान होस् ।’

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीले यस घटनामा अनुसन्धान भइरहेको जानकारी दिए । ‘पोष्टमार्टम रिपोर्ट पनि आइसकेको छैन’ उनले भने, ‘यो घटनाबारे हामीले अनुसन्धान गर्दै आएका छौं । शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि गरिँदै आएको छ ।’