भण्टाबारी । दसैंको बेला मापसे गरी होहल्ला गर्दै अनावश्यक रूपमा जमघट भई शान्तिसुरक्षा भंग गर्ने १२५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

१२५ जनालाई नियन्त्रणमा लिएकोमा ८ जना उपर अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको र ११७ जनालाई कागज गरेको सम्झाई बुझाई छाडिएको थियो । दसैंको बेला ६ हजार १३९ गाडी आकस्मिक चेकजाँच गरिएबाट सुनसरीभरमा २० लाख २८ हजार बराबरको राजस्व संकलन गरिएको एसपी थापाले बताए । सुनसरी प्रहरीले चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी ईकाईहरुबाट १५ दिनको अवधिमा १३ हजार ६२० प्रहरी परिचालित भएका थिए ।

"स्विप अप्रेसन" प्रभावकारी

चाडपर्वलाई लक्षित गरेर चलाएको "स्विप अप्रेसन" प्रभावकारी भएको सुनसरी प्रहरीले बताएको छ ।

खुल्ला सीमा नाकाका कारण संबेदनसिल मानिएको जिल्ला भएकोले चाडपर्वलाई लक्षित गरेर चलाएको "स्विप अप्रेसन" प्रभावकारी हुँदा शान्तिपूर्ण तवरले दसैं सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापा बताउँछन् ।

नेपाल भारतबीच रहेको खुल्ला सीमा नाकाको फाइदा उठाएर चाडपर्वको बेला अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा "स्विप अप्रेसन" प्रहरीले चलाएको थियो । चाडपर्वको समयमा हुनसक्ने सम्भावित विभिन्न प्रकारका अपराधीक गतिविधि, अवाञ्छित क्रियाकलाप, चोरीपैठारी,लागूऔषध तथा साना हातहतियार ओसारपसार नियन्त्रण गर्न सुनसरी प्रहरीले "स्विप अप्रेसन" का रूपमा विशेष अप्रेसन चलाएको एसपी थापाको भनाइ छ ।

दसैं,तिहार लगायतका चाडपर्वका बखत हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्ने चलाएको "स्विप अप्रेसन" सफल भएको उनले बताए । कोरोना संक्रमित व्यक्तिको संख्या बढिरहेको अवस्थामा नेपाल प्रहरी फ्रन्ट लाइनमा जोखिम मोलेर चलाएको अप्रेसनका कारण जिल्लामा भयरहित वातावरणमा दसैं सम्पन्न भएको एसपी थापाले बताए ।