धरान । भाउजू नाता पर्ने महिलालाई डरधम्की देखाएर बलात्कार गरेको आरोपमा धरानका २२ वर्षीय युवक पक्राउ परेका छन् । अर्का २३ वर्षीय युवा भने फरार छन् ।

सोमबार पक्राउ परेका ति युवा पीडित महिलाको काका ससुराका छोरा हुन् । फरार हुने युवा भने उनका आफ्नै देवर हुन् ।

एक छोरा र एक छोरीकी आमा २२ वर्षीया महिलालाई करिब डेढ वर्षदेखि उनीहरुले डर, धम्की देखाएर बलात्कार गर्दै आएको उजुरीका आधारमा एक जनालाई पक्राउ गरिएको र अर्का व्यक्तिको खोजी भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।

ती महिलाका श्रीमान् घरबाहिर भएको मौका छोपेर लामो समयदेखि उनलाई घरकै देवरले बलात्कार गर्दै आएको र ती देवरले भाउजूसँग यौन सम्बन्ध राखेको बारे काकाका छोरालाई बताएपछि उनले पनि सार्वजनिक गरिदिने धम्की दिंदै बलात्कार गर्ने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनीहरुले ती महिलालाई हत्या गर्नेसम्मको धम्की दिएको प्रहरीको भनाई छ ।

बलात्कार घटना सार्वजनिक भएपछि परिवारमै मिलाउने प्रयाससमेत भएको थियो । तर माइती पक्षले उजुरी गरेकाे थियाे ।