धरान । भारतको बिहार राज्यस्थित छत्तिसगढको बालोद जिल्लामा ढेड वर्षीया बच्चीको अनुहारमा चुरोटले जलाएको आरोपमा एक पुलिसकर्मीलाई बर्खास्त गरिएको छ ।

पुलिसकर्मी अविनाश रायलाई नोकरीबाट बर्खास्त गरिएको बीबीसी हिन्दी सेवाले उल्लेख गरेको छ । प्रहरीका अनुसार घटना कुन परिस्थितिमा भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । बालोद जिल्लाका प्रहरी प्रमुख जितेन्द्र मीणाले भने, ‘आरोपित प्रहरीलाई पक्राउ गरी अदालतमा हाजिर गराइसकेका छौं । जाँचका लागि दुर्ग जिल्लाका प्रहरी प्रमुखलाई जिम्मेवारी सुम्पिसकेका छौं । उनलाई कारबाही गर्ने क्रममा नोकरीबाट बर्खास्त गरिसकेका छौं ।’

यसलाई प्रहरीले पनि अतिअमानवीय र क्रुर घटना भएको बताएको छ । यस्तै अदालतको आदेशमा पनि क्रुर र अमानवीय घटना भएको बताएको छ । यस्ता घटनाका आरोपितलाई तत्काल छाड्न सक्ने अवस्था नरहेको बताएको छ । आदेशमा भनिएको छ, ‘यस्ता प्रवृत्ति भएका कर्मचारीविरुद्ध कठोर कारबाही विभागका लागि मात्रै हैन, जनहितका लागि पनि आवश्यक थियो । ताकि समाजमा विभागप्रतिको छबीलाई कायम राख्ने जिम्मेवारी पनि छ ।’

आरोप के हो ?

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार अभियुक्त प्रहरीले नोभेम्बर ५ तारिखका दिन यो घटना घटाएका थिए । उनी दुर्ग जिल्लामा कार्यरत रहेका थिए । प्रहरी राय बालोद जिल्लाको सिवनीमा भाडाको घरमा बस्दै आएका थिए । जहाँ उनले आफ्ना सामान लिन जाने क्रममा सोही दिन घर मालिकका ढेड वर्षीया बच्चीलाई आफूलाई बुबा भन्नका लागि भनेका थिए ।

ती बच्चीले बाबा नभनेकै कारण अभियुक्तले चुरोटले शरीर तथा अनुहारमा विभिन्न भागमा जलाएका थिए । घटना भएको दिनकै राति पीडितकी आमाले बालोद पुलिसमा घटनाको जाहेरी दिएकी थिइन् । घटनापश्चात पनि बालिकाको उपचार तत्काल हुन नसकेका कारण उनी गम्भीर बनेकी छन् । प्रहरीका अनुसार शनिबारसम्म उनको उपचार हुन सकेको छैन । घटना मिडियाहरूमा आ्रएपछि बालोद जिल्ला अस्पतालबाट रिफर गरेर रायपुरको सरकारी अस्पतालमा पठाइए पनि शनिबारसम्म उपचार सुरु हुन नसकेको प्रहरीले जनाएको छ ।

पीडित बच्चीकी आमाले सुरुवातमा चामलको माड झरेका कारण घाइते बनेको बताएकी थिइन् । तर, केही समयपछि आरोपित प्रहरीले मादक पदार्थ सेवन गरेका कारण चुरोटले शरीर जलाइदिएको स्वीकार गरेकी थिइन् । पीडित बच्चाका बुबा नागपुरमा बस्दै आएका छन् भने बच्ची आमाको साथमा बस्दै आएकी थिइन् । आरोपित प्रहरीले पीडित परिवारसँग लामो समयदेखि सम्पर्कमा रहेको बताइन्छ । जसका कारण पनि घटनामा ट्वीस्ट आउने सक्ने अनुमान गरिएको छ ।

सामाजिक कार्यकर्ता एवम् हाइकोर्टकी वकिल प्रियंका शुक्लाले भनिन्, ‘यो घटनामा फरक फरक कुराहरू बाहिर आइरहेका छन् । पीडित पक्ष पनि आरोपितसँग लगातार सम्पर्कमा रहेका बुझिन्छ । यो घटनामा धेरै कुरा बाहिर आएको छ । तर, अहिले नै निष्कर्षमा पुगिहाल्न हतारो हुन सक्छ । घटनाको पूरा छानबिन नभई सबै कुरा बाहिर नआउन सक्छ ।’