विराटनगर/अवैध रूपमा भारतबाट मध्य रातकाे समयमा तस्करी गरी ल्याएको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) रानी विराटनरले शुक्रबार राति साढे ११ बजे तस्करीको ३ लाख ६० हजार ४ सय ६० मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो । बीओपी रानीका सशस्त्र इन्स्पेक्टर मौसम पोखरेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले विराटनगर–१५ सुढी बस्तीबाट कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले भेष्ट, स्याण्डो, लेडिज टप्सलगायतका कपडाहरू बरामद गरी बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ । केही दिनअगाडि पनि बिओपी रानी र बखरीले दुई दिनमा १० लाख ६० हजार मुल्य बराबरकाे कपडा बरामद गरेको थियो । बखरी बीओपीले ९ लाख २२ हजार र बिओबी रानीले १ लाख ४५ हजार मूल्य बराबरको तस्करीको सामान बरामद ग¥यो ।

अहिले मध्य राति र बिहानीपखको समयमा विराटनगर–१६ स्थित दरैयाको उखुबारी, दक्षिण गेट र इस्लामपुरबाट मध्य राति कपडा तस्करी हुने गरेको छ । यो नाकाहरूबाट तस्करीमा लागेका गिरोहले भरिया प्रयोग गरी बोराभित्र कपडा हालेर भारतदेखि ल्याउने गर्दछन् । मोरङको पूर्वी क्षेत्रको सीमा नाकामा प्रहरीले कडाइ गर्न थालेपछि अहिले भारतसँग सीमा जोडिएको विराटनगरको दरैयाबस्तीको उखु बारी प्रयोग गर्न थालेका छन् ।

स्रोतको अनुसार ११ बजेपछि तस्करीको कपडा विराटनगर १६ दरैयाको उखु बारीको भित्री बोटो हुँदै रिङरोडको सडक प्रयोग गर्दछन् । भारतको टिकुलिया बस्तीदेखि दक्षिण क्षेत्रमा कपडा जम्मा गरी राख्दछन् । राति ११ बजेपछि भरियालाई लगाए विराटनगर १६ उखुबारी हुँदै दरियाबाट तस्करीको कपडा कटाउने गरेको यहाँका स्थानीयको भनाइ छ ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले भन्सार छलेर कपडाको तस्करी हुन थालेको पाइएपछि सबै ठाउँमा कडाइ गरिएको बताए । ‘कपडादेखि अन्य सामानसमेत तस्करी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कडाइ गरिएको छ,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिइसकिएको छ ।’ तस्करी नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाएको उनले बताए ।