इनरुवा । लागूऔषध विरुद्ध सुनसरी प्रहरीले चालेको स्वीप अप्रेसनका क्रममा २८ जना पक्राउ परेका छन् ।

प्रहरीले वैशाख महिनाको अन्तिम साताबाट थालेको अप्रेसनका क्रममा २८ जनालाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा अधिकांश युवा तथा किशोर उमेर समूहका व्यक्तिहरू रहेका छन् ।

सुनसरी प्रहरीले दिएको जानकारीअनुसार नेपाल र भारतको खुला सीमाको फाइदा उठाउँदै लागूऔषधको कारोबार गर्ने समूह र गिरोह स्वीप अप्रेसनको क्रममा समातिएका हुन् ।

प्रहरीले लागूऔषधको कारोबार गर्ने गिरोहलाई लक्षित गरी थालेको अप्रेसन चेन तोड्न सफल भएको जनाएको छ । उसले मूख्य कारोबारीहरू पक्राउ परेको र अन्य केहीको खोजी जारी रहेको जनाएको छ ।

प्रहरी उपरीक्षक कमल थापाका अनुसार प्रहरीले विशेष गरी नेपाल भारतको खुला सीमा र त्यसको आडमा हुँदै आएको आगूऔषधको कारोबार निस्तेज पार्न स्वीप अप्रेसन चलाउदै आएको छ ।

सो क्रममा मुख्य कारोबारी र गिरोहका व्यक्ति समेत गरी दशैं अवधि सम्ममा २८ जनालाई पक्राउ गरिएको थापाले जनाए । जसमध्ये २४ जना पुर्पक्षका लागि थुनामा गएका छन् । ३ जना अदालतबाट धरौटीमा रिहा हुँदा १ जनालाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट विभिन्न स्थान र समयमा गरी ठूलो परिमाणमा लागूऔषध बरामद गरेको जनाएको छ । सुनसरी प्रहरीले स्वीप अप्रेसन बाहेकको अवस्थामा समेत लागूऔषधमा संलग्न व्यक्तिहरू पक्राउ गर्दै आएको जनाएको छ ।

सुनसरी प्रहरीले अरूको उक्साहट र लोभमा परी लागूऔषधतर्फ फस्ने क्रममा रहेका कतिपय युवाहरूलाई अवस्था हेरी उनीहरूको जीवन सुधार्न अभिभावकको जिम्मा समेत लगाउने गरिएको जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय अरुको उक्साहट र आर्थिक लोभमा परी युवा जमात कुलतमा फस्ने क्रम बढेको छ । त्यसतर्फ अभिभावकसमेत सचेत बन्नु आवश्यक रहेको प्रहरीको भनाइ छ ।