भण्टाबारी । भारतीय बजारबाट लुकाएर ल्याइएको पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर १ स्थित भण्टाबारीबाट सशस्त्र प्रहरीले पटका बरामद गरी नष्ट गरेको हो । 


लुकाएर भारतीय बजारबाट चोरबाटो हुँदै नेपाल भित्र्याइएको २० हजार बराबरको चिरचिरी सहित विभिन्न प्रकारका पटका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल बिओपी भण्टावारीका इन्स्पेक्टर भुवन खड्काले जानकारी दिए । बरामद गरिएको पटका स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगायतको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

चाडपर्व नजिकै गर्दा जिल्लाको सीमावर्ती क्षेत्र हुँदै भारतीय बजारबाट लुकिछिपि पटकाजन्य पदार्थको तस्करी हुने क्रम बढेको पाइन्छ । चाडपर्व नजिकिदै गर्दा यस्ता वस्तुको अवैध पैठारी बढ्न सक्ने भन्दै निगरानी बढाएको सुनसरी प्रहरीले बताएको छ । खासगरी तिहारका लागि भन्दै भारतीय बजारबाट वर्षेनि लाखौं मुल्य बराबरको पटका नेपाल भित्रीने गरेको छ ।