धरान । हालै सार्वजनिक भएको र्याप भिडियोमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै र्यापर भिटेन उर्फ समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई चिठ्ठी पठाएको छ ।

उनले एक साताअघि युट्युबमा भिडियो रिलिज गरेका थिए । उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले बिहीबार साइबर ब्यूरो भोटाहिटीलाई चिठ्ठी पठाएको हो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार सार्वजनिक भिडियोमा आपत्तिजनक शब्दको प्रयोग गरिएकाले कारबाही गर्नका लागि पत्राचार गरिएको हो ।

भिटेनले हालै पारा शीर्षकको नयाँ भिडियो स्रोतामाझ ल्याएका थिए । यसअघि पनि उनलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको थियो । निकै विवादित बन्दै आएका भिटेनलाई एक वर्षअघि पनि पक्राउ गरी भिडियो हटाउन लगाएको थियो ।

उनले तत्कालीन समयमा अनावश्यक शब्द प्रयोग नगर्ने शर्तमा प्रहरीले कारबाही नै नगरी छाडेको थियो । यसपटकको भिडियोमा भने प्रहरीलाई समेत अपशब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि कारबाहीका लागि निर्देशन दिइएको हो । उनले भिडियोमा प्रयोग गरेको शब्द समाजमा पाच्य नहुने किसिमको रहेको प्रहरीको दाबी छ ।

ब्यूरोले पनि अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ । उक्त भिडियो हाल युट्युबको ट्रेण्डिङमा पहिलो नम्बरमा छ ।