सुनसरी । सुनसरीको एसपी कमल थापाले आर्थिक लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।अख्तियारमा उजुरी परेसँगै अख्तियारले प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पत्र काटेको छ । 

लागूऔषध तथा सुर्तीजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परेपछि छानबिन समिति गठन भएको छ । एसपी थापाले बोर्डर क्षेत्रमा सेटिङका लागि प्रहरी राखेर तस्करीसमेत गर्दै आएको स्रोत बताउँछ ।

लागूऔषधमा पैसा माग्ने मिल्यो भने छाड्ने पैसा नदिए मुद्दा चलाउने गरेको गुनासोसहित उजुरी परेपछि छानबिन थालिएको हो । पछिल्लो समय सुनसरीको सीमावर्ती क्षेत्रबाट हरियो मटर पनि तस्करी हुने गरेको छ । प्रहरीकै संलग्नतामा हरियो मटर तस्कर भइरहेको सुनसरीकै एक प्रहरी बताउँछन् ।

प्रदेश नम्बर एक प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले सुनसरीको एसपी थापाको उजुरी परेको पुष्टि गरे । उनले भने, ‘सामान्य विषय हो कुनै रिसिइबीको आधारमा पनि उजुरी परेको हुन सक्छ ।’ जिल्लाका एसपीहरूविरुद्ध उजुरी परिरहने भन्दै डिआइजी कार्कीले आफूले एसपी मनोज यादवको नेतृत्वमा समिति बनाएको बताए ।

छानबिन समितिका संयोजक मनोज यादवको टोलीले आरोपित सुनसरीका एसपी कमल थापाको समेत बयान लिने काम सकेको बताएको छ । समितिले बयानको आधारमा यो प्रतिवेदनलाई प्रदेश प्रहरी कार्यालय पठाउने र उक्त प्रतिवेदनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा बुझाउने छ ।