धरान । करिब दश लाख रुपैयाँभन्दा बढीको पटाका (आतीशवाजी) सहित मोरङ प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको ‘तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण अभियान’ अन्तर्गत आज (सोमबार) अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा कटहरी गाउँपालिका–४ का ३६ वर्षीय दिलीपकुमार सहनीलाई पक्राउ गरिएको हो । सहनीले विभिन्न नामका पटाका भित्र्याउँदै गएको अवस्थामा प्रहरीले बरामद गर्न सफल भएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार सहनीको साथबाट जीरा, पापड, गुलाब जामुन, फेन्सीका लत्ताकपडा र सूर्तीजन्य पदार्थ पनि बरामद गरिएको हो । उनले भन्सार छली गरी घरमा मौज्दात गरेको अवस्थामा विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । बरामद सामग्री मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने तयारी भइरहेको डिएसपी तथा प्रवक्ता राईले जानकारी दिए । पटाका भने कानून बमोजिम नष्ट गरिने तयारी गरिएको छ ।

प्रहरीका अनुसार एक लाख ८० हजार मूल्य बराबरको पटाका, २३ हजार मूल्य बरामदको फेन्सीका सामान, ४६ हजार रुपैयाँ बराबरका किराना सामान, ४६ हजार रुपैयाँ बराबरको बलवान खैनी, ७ लाख रुपैयाँ बराबरको विभिन्न लत्ताकपडा, र १२ हजार रुपैयाँ बराबरको बालसेरी काँटी बरामद गरेको छ । प्रहरीले ९ लाख ९४ हजार मूल्य बराबरको सामग्री बरामद गरेको छ ।