विराटनगर/ चाडपर्व भित्रिएसँगै सीमा नाका सिल गरिएको बेला भन्सार छलेर भारतबाट लत्ताकपडाको तस्करी हुन थालेको छ ।

तस्करीमा लागेका गिरोहका समूहबाट भारतदेखि रातिको समयमा विराटनगर– १६ दरैयाबस्तीको उखुबारी हुँदै विराटनगरमा तस्करी हुने गरेको पाइएको हो । नेपाल–भारत सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले शनिबार राति र मोरङ प्रहरीले आइतबार बिहान ठूलो परिणामको लत्ताकपडा बरामद गरेपछि तस्करी हुन थालेको पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको टोलीले दुई दिनमा १० लाख ६० हजार मूल्य बराबर पर्ने कपडा बरामद गरेर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरीको बिओपी बखरीले ९ लाख २२ हजार र बिओपी रानी विराटनगरले १ लाख ४५ हजार मूल्य बराबरको तस्करीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलका अनुसार विराटनगर–१६ दरैयाबाट तस्करीको कपडा बरामद गरेको जानकारी दिए । उनका अनुसार टप्स, कुर्ता सुरुवाललगायतका कपडा नियन्त्रणमा लिइएको छ ।

प्रहरी आएको थाहा पाएपछि तस्करीमा संलग्न भने फरार बनेका थिए । ‘भारतबाट कपडा तस्करी भएर आइरहेको छ भन्ने विशेष सूचनाका आधारमा बिओपी बखरीका सइको नेतृत्वमा परिचालित सशस्त्र प्रहरीको टोलीले कपडा बरामद गरेको हो’ एसपी पौडेलले भने, ‘बरामद गरिएका सबै कपडा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।’

बोराभित्र राखेर ल्याउँदै गरेको अवस्थामा भन्सार छलेको तस्करीको कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले तस्करीमा संलग्नले भारतसँग सीमा जोडिएको विराटनगरको दरैयाबस्तीको उखुबारी प्रयोग गर्न थालेका छन् । स्रोतका अनुसार राति ११ बजेपछि तस्करीको कपडा विराटनगर–१६ दरैयाको उखुबारीको भित्रीबाटो हुँदै रिङरोडको सडक प्रयोग गरी ल्याउने गरेका छन् । भारतको टिकुलिया बस्तीदेखि दक्षिणीक्षेत्रमा कपडा जम्मा गरी राखेर राति ११ बजेपछि भरिया लगाएर विराटनगर–१६ उखुबारी हुँदै दरियाबाट तस्करीको कपडा कटाउने गरेको त्यहाँका स्थानीयको भनाइ छ । कपडाको तस्करीको लाइन ‘लिबिस्टकवाली’ भनेर चिनिने रेणुका मण्डल, मुकेश साह, सुरेश यादव, सवनम मियाँले चलाउने गरेको स्रोतको दाबी छ ।

उनीहरूले भारतदेखि दरियाबस्ती हुँदै विराटनगरसम्म पु¥याउन भरिया प्रयोग गर्दछन् । उनीहरूले भरिया प्रयोग गरेको निश्चित रकम दिने गरेका छन् । प्रतिव्यक्ति भरियालाई ५ सयदेखि एक हजार रूपैयाँ दिने गरेका छन् । ‘१ हजार रुपैयाँ दिएको भरियालाई ८० देखि १ सय पिससम्म बोरामा हालेर कपडा बोकाउने गरेका छन्’ स्रोतले भन्यो, ‘५ सय रुपैयाँ दिएको भरियालाई ३० देखि ४० पिससम्म कपडा बोकाउने गरेको पाइयो ।’

सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार र आइतबार बरामद गरेको तस्करीको कपडा उनीहरूकै रहेको बुझिएको छ । यो समूहले भारतदेखि उखुबारी कटाएपछि दरैयाबस्तीको विश्वासिलो व्यक्तिका घरमा भण्डारण गर्ने र दिउँसो समय मिलाएर गन्तव्यसम्म पुर्याउने गर्दछन् । उनीहरूले विराटनगरसहित पूर्वका विभिन्न शहरमा कपडाको तस्करी गर्दछन् । अहिले यो समूहले चाडपर्वको समयमा कपडा र अन्य बेला सिजन अनुसारको तस्करीको धन्दा चलाउने गरेको छ ।

आइतबार बिहान मोरङ प्रहरीले विराटनगर–८ स्थित जय नेपाल चोकबाट तस्करी गरी राखिएको कपडा र अटो टेम्पो बरामद गरेको छ । को.२ ह ७६७१ नम्बरको अटो टेम्पोमा लुकाई छिपाई ल्याउँदै गरेको ३ लाख ७० हजार मूल्य बराबरको कपडा बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । प्रहरीका अनुसार कुर्ती सिङ्गल ६ सय ८ पिस, कुर्ता सुरुवाल सेट १ सय ६५ पिस, बच्चाको पेण्ट १८ पिस बरामद गरेको छ । बरामद गरेको सामग्री प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

भन्सार छलेर कपडा तस्करी हुन थालेको पाइएपछि सबै ठाउँमा कडाइ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी खड्काले बताए । ‘कपडादेखि अन्य सामानसमेत तस्करी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कडाइ थालिएको छ’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिइसकिएको छ ।’ तस्करी नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाएको उनले बताए । तस्करीका लागि तस्करहरूले भारतसँग सीमा जोडिएका मोरङका रङ्गेली, बुधनगर, मटेरुवा, खयरवना, सिक्टी, दरैया र सुनसरीका अमडुवा, साहेवगञ्ज, भण्टाबारी, भुटाहा, घुस्कीलगायतका नाका प्रयोग गर्न थालेका छन् ।