भण्टाबारी । खुल्ला सीमाका कारण चोरी तस्करी तथा आपराधिक गतिविधि हुने सुनसरीको सीमावर्ती क्षेत्रमा नागरिकले प्रहरीलाई साथ दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

नागरिक तहबाट आएको यो प्रतिवद्धताले प्रहरीलाई हौसला मिलेको बताएकाे छ । ६५ औं प्रहरी दिवसको अवसरमा सरोकारवालासँग भएको छलफलमा अधिकांश सरोकारवालाले ‘प्रहरीलाई साथ दिने’ प्रतिवद्धता जाहेर गरे । सुनसरीमा ६५ किलोमिटर खुल्ला सिमाना छ । विशेष गरी यो क्षेत्रबाट चोरी तस्करी, लागूऔषध कारोबार र साना हतियारको कारोबार हुने गरेको प्रहरी तथ्याङ्कबाट पुष्टि हुन्छ । पछिल्लो समय मानव बेचविखन पनि यही सीमाबाट हुने गरेको प्रहरीले जनाएको छ ।

लागूऔषधमा सुनसरी देशको दोस्रो कारोबार हुने जिल्ला हो । प्रहरीलाई जनताको साथ भए मात्रै अपराध अनुसन्धान चुस्त हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले धरानको कार्यक्रममा बताएका थिए । यता प्रहरी अधिकारीले पनि जनताको साथबिना अपराध नियन्त्रण गर्न चुनौती हुने बताएका छन् । तर, सुनसरी प्रहरीलाई जनताले साथ दिने भएपछि भने अब अपराधमा केही प्रगति गर्न सक्ने अनुमान गरिएको छ । यसैबीच सुनसरीका विभिन्न क्षेत्रका ११ व्यक्तित्व सम्मानित भएका छन् ।

सम्मानितमध्येका नेपाल मुस्लिम संघ प्रदेश १ का अध्यक्ष इसराइल मन्सुरीले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई सर्वसाधारणको साथ चाहिने बताए । अर्का सम्मानित प्रवेज आलमले प्रहरीले मात्रै चाहेर अपराध न्यूनीकरण अभियान सफल नहुने भएकाले नागरिकस्तरबाटै सहयोग गर्न आवश्यक रहेकाले सहयोग गर्न आफूहरू तत्पर रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले नेपाल प्रहरी जनहितका लागि काम गर्ने बताए । उनले प्रहरी बर्दीधारी भए पनि सर्वसाधारण बिना बर्दीधारीका सिपाही रहेको बताए । जनताको साथ भएमा सहजै अपराध नियन्त्रण गर्न सकिने उनले बताए ।