धरान । भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको खाद्यान्न तथा मदिराजन्य पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले विराटनगर–१७ मटेरुवाका चुलियादेवी साहको घरमा अवैध रूपमा लुकाईछिपाई राखेको अवस्थामा खाद्यान्न अन्तर्गत मटरको दाल बरामद गरेको छ । प्रहरीले शनिबार अपरान्ह ४ बजेतिर खानतलासी गर्दा बिल नभएको २५ केजी दरको १८ बोरा दाल बरामद गर्न सफल भएको हो । प्रहरीका अनुसार करिब ३८ हजार मूल्य बराबरको दाल बरामद गरिएको छ । बरामद गरिएको दाल मूल भन्सार कार्यालय विराटनगर रानीमा बुझाइएको छ ।

त्यस्तै आज बिहान करिब ६ बजेतिर विराटनगर–८ जयनेपाल चोकबाट प्रहरीले भारतबाट नेपलातर्फ आइरहेको को २ ह ७६७१ नम्बरको अटो टेम्पोबाट लत्ताकपडा बरामद गरेको छ । प्रहरीका अनुसार कुर्ती सिंगल ६०८ पिस, कुर्ता सुरूवाल सेट १६५ पिस, बच्चाको पेन्ट १८ पिस, बच्चाको जामा ८ पिस नियन्त्रणमा लिएको हो । टेम्पोसहित बरामद सामग्रीको कुल मूल्य ३ लाख ७० हजार रहेको प्रहरीले जनाएको छ ।

साथै, शुक्रबार मोरङको जहदा गाउँपालिका १ बाट इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले को २ ह ३७९२ नम्बरको अटो टेम्पोलाई रोकी जाँच गर्दा २० कार्टुन फोर स्टार बियर, १ कार्टुन गोल्डेन अक, १० कार्टुन उमंग, २ बोतल सिग्नेचर बरामद गरेको छ । बरामद सामग्री आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको जिप्रकाका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।