कैलाली । ड्युटीमा खटिएका एक असइ मृत अवस्थामा फेला परेका छन् । अर्का प्रहरी जवान बेपत्ता छन् ।

कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत असइ गोविन्द विकको शव फेला परेको हो । धनगढी उपमहानगरपालिका–११ को मोहना खोलामा शव फेला परेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै प्रहरी जवान रामबहादुर साउद बेपत्ता बनेका छन् ।

गस्तीका लागि हिँडेका उनीहरू ड्युटी अवधि सकिँदा पनि नफर्किएपछि रातिदेखि नै उनीहरूको खोजी थालिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको खोजी गर्ने क्रममा मोहना नदी किनारमा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी प्रतीक विष्टका अनुसार असइको घाँटी रेटिएको अवस्थामा भेटिएको छ । त्यस्तै खुट्टामा पनि चोट लागेको छ । प्रहरी जवानको खोजी कार्य भइरहेको उनले जानकारी दिए । उनको खोजीका लागि प्रहरीले गोताखोर खटाएको छ ।

काठमाडौंको सेतोपाटी डटकमका अनुसार असइ विक तस्करी नियन्त्रणमा आक्रामक रूपमा प्रस्तुत हुँदै आएका थिए । प्रहरीले यो घटनामा तस्करीहरूले नै आक्रमण गरेको हुन सक्ने जनाइएको छ ।