धरान । बिना टेण्डर खरिद गरिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालका महँगा आइसियु भेन्टिलेटर छोटो अवधिमै काम नलाग्ने बनेपछि आपूर्तिकर्ता कम्पनी र प्रतिष्ठानका पदाधिकारीलाई टाउँको दुखाइको विषय बनेको छ ।

आपूर्तिकर्ता कम्पनी हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा मुद्दा खेपिरहेको चेतन अग्रवाल र उनका दाजुभाइको कम्पनी हो । द मेडिकल सोल्युसन कम्पनीबाट आपूर्ति गरिएका ८ वटामध्ये ६ वटा काम नलाग्ने अवस्थामा पुगेपछि प्रतिष्ठानका पदाधिकारी र आपूर्तिकर्तालाई टाउँको दुखाइको विषय बनेको हो । यस विषयम अहिले इटहरीस्थित अख्यितारको कार्यालयले छानबिन गरिरहेको छ । आइसियु भेन्टिलेटर खरिद गर्न प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी र उनका स्वकीय सचिव समेत रहेका प्रशासनिक सल्लाहकार दिलीप भट्टराईको सेटिङमा अग्रवाल दाजुभाइको कम्पनीबाट सामान गरिद गरिएको थियो ।

प्रतिष्ठानकै एक उच्च पदाधिकारीले भने, ‘ती भेन्टिलेटर आइसियुहरू फोनको भरमा झारिएका हुन् । अहिले अधिकांश मेडिकल उपकरणले काम गरिरहेको छैन । यसको जवाफदेही उपकुलपति गिरी र उनका प्रशासनिक सल्लाहकार भट्टराई हुन्छन् ।’ अग्रवालले आफ्नो कम्पनी द मेडिकल सोल्युसन मार्फत प्रतिथान १७ लाख ५० हजार रुपैयाँ मूल्य राखेरबिना टेण्डर ८ थान आइसीयु भेन्टिलेटर आपूर्ति गरेका थिए ।

उक्त भेन्टिलेटर आयरल्याण्डमा निर्मित भएको बताइन्छ । तर, ती उपकरणको गुणस्तर हालसम्म प्रमाणित नभएको प्रतिष्ठानका एक प्राविधिकले बताए । ती प्राविधिकका अनुसार खरिद ऐनअनुसार प्रतिष्ठानमा कुनै पनि मेडिकल उपकरण खरिद गर्नका लागि टेण्डर गर्नुअघि चाहिएको सामानको स्पेशिफिकेसन सम्बन्धित विभागले बनाउने गर्छ ।  स्पेशिफिकेसन तयार भएपछि गुणस्तर हेर्ने बायोमेडिकल इन्जिनियर सहितको कमिटिले त्यसलाई गुणस्तरीय भए न भएको निक्र्यौल गर्छ । तर यसपटक उपकुलपति र उनका सल्लाहकारले कुनै पनि टिमसँग राय सल्लाह  नगरी, गुणस्तरमा ध्यानै नदिई कमिसनको चक्करमा मेडिकल उपकरण आपूर्ति गर्दा आइसियु भेन्टिलेटरले काम नगरेको हो ।

गम्भीर समस्या भएका संक्रमितमध्ये अधिकांसको आइसीयु भेन्टिलेटर नपाएर छटपटाएरै मृत्यु हुने गरेको छ । धरानमामात्र एकसातामा होम आइसोलेसनमा बसेका ८ जना बढीको ज्यान गइसकेको छ । श्रोतकाअुसार कोभिड अस्पतालको भेन्टिलेटरमा भर्ना गरिएका मध्ये हालसम्म १ जनामात्र बचाउन सकिएको छ । कोभिड अस्पतालमा हालसम्म ६१ जनाको मृत्यु भएको छ ।