प्राविधिक विषयको अध्ययनको माग बढिरहेको बेला इटहरीमा नयाँ प्राविधिक कलेज सञ्चालनमा आएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले इटहरीमा प्राविधिक कलेज सञ्चालनमा ल्याएको हो । सो कलेजले यसै वर्षदेखि अध्यापन शुरु गर्दैछ । कक्षा सञ्चालनको तयारी, व्यवस्थापन र प्राविधिक शिक्षाको आश्यकताको विषयमा सो कलेजका प्रिन्सिपल अर्जुन उप्रेतीसँग ब्लाष्टका लागि बाबुराम सुवेदीले गरेको कुराकानीः–

आजकाल के मा व्यस्त हुनुहुन्छ ?
प्रदेश नं. १ कै शैक्षिक केन्द्रविन्दु इटहरीमा बहुप्राविधिक शिक्षालय (पोलिटेक्निक) कलेजमा विद्यार्थी र अभिभावकहरुसँग छलफल गर्दै प्राविधिक धारका विषयहरुको अध्ययनका लागि प्रवेश परीक्षा फारम भर्न सहयोग गर्दै प्राविधिक कलेज सञ्चालनको तयारीमा छु ।

इटहरीमा नै यहाँहरूले कलेज किन खोल्नुभयो ?
इटहरी प्रदेश १ र देशैभरिको दक्षिणको छिमेकी राष्ट्र भारतसम्म जाने जोगवनीदेखि उत्तरको छिमेकी चीनसम्म जाने किमाथाङ्का नाकासँग सडक सञ्जालबाट सिधै जोडिएको शैक्षिक केन्द्र भएकोले हामीले सबैतिरका अभिभावक र विद्यार्थीहरुलाई पायक पर्ने, सहज यातायातको कारण चारैतिरबाट आउन सकिने सुविधायुक्त स्थान भएकोले इटहरीलाई छानेका हौं भने अर्कातर्फ इटहरीमा प्राविधिक धारका तीनवर्षे डिप्लोमा तहका विषयहरु सर्वसुलभ र सस्तो मूल्यमा पठन–पाठन हुने कलेजहरु नभएका कारण पनि यहाँको आवश्यकतालाई सम्मान गर्दै इटहरी रोजिएको हो ।

तपाईंहरूको कलेजमा कुन कुन विषयहरू पढाइ हुन्छन् ?
हामीकहाँ नेपाल सरकारको प्राविधिक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन लिइएका तीनवर्षे सिभिल इञ्जिनियरिङ, होटल म्यानेजमेण्ट र कृषि, बालीविज्ञान विषयहरु पढाइ हुन्छ ।

तपाईंको कलेजमा पढेका विद्यार्थीहरूले पाउने अवसरहरू के के हुन सक्छन् ?
पहिलो कुरा त आफ्नो ठाउँमा विद्यार्थीहरुले आफूले चाहेको प्राविधिक विषय सर्वसुलभ शुल्कमा पढ्न पाउँछन् । दोस्रो कुरा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, प्रशस्त प्रयोगात्मक अभ्यास, सरकारी तथा सामुदायिक र निजी उद्योग, कारखाना, फारम एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका होटल तथा पर्यटन उद्योगमा इण्टर्नसिप र रोजगारीको अवसर, छात्रवृत्ति, अध्ययन अनुसन्धान र शैक्षिक भ्रमणका साथै रोजगारीमा जोडिनेसम्मका अवसरहरु प्राप्त गर्नेछन् ।

कहिलेदेखि विद्यार्थी भर्ना गर्दै हुनुहुन्छ ?
असोजको १५ गतेदेखि प्रवेश परीक्षाको फारम भर्ने कार्य भइरहेको छ । यो आज २५ गतेसम्म छ । अब फेरि समय थपिए अरु केही दिन बढ्न पनि सक्ला ।

यस्तो लकडाउनको अवस्थामा विद्यार्थी तथा अभिभावकहरूले कसरी सम्पर्क गर्ने ?
अहिलेको विज्ञान र प्रविधि अधिकतम् प्रयोग भइरहेको बेलामा सम्पर्क गर्न कुनै गाह्रो छैन । अभिभावकले आफ्नो घरमै बसेर पनि हामीकहाँ फर्म भर्न सक्नुहुन्छ । हाम्रो वेबसाइटमा सिटिइभिटीको प्रवेश परीक्षाको फारम राखिएको छ । त्यहीँबाट डाउनलोड गरेर भर्न सकिन्छ । इमेलमार्फत् सबै कागजात पठाएर कलेज नआई पनि भर्न सकिन्छ । अथवा भौतिक दूरी कायम गर्दै सुरक्षा मापदण्ड अपनाएर कलेजमा आफै वा सहयोगीमार्फत् आएर पनि फर्म भर्न सकिन्छ ।

तपाईं लामो समयदेखि शैक्षिक सेवामा हुनुहुन्छ, नेपालको शिक्षा प्रणालीमा सुधार गर्न के गर्नुपर्छ ?
नेपालको शिक्षा प्रणाली अलिक सैद्धान्तिक बढी व्यवहारिक र प्रयोगात्मक कम भएको अवस्था छ । शिक्षा हाम्रो जीवनसँग प्रत्यक्ष जोडिन सकेको छैन । पढ्नलाई मास्टर्स डिग्रीसम्म सिद्धान्तका ठूला–ठूला ठेलीहरु पढिन्छ तर, त्यो व्यवहार उपयोगी हुन सकेको छैन । शैक्षिक बेरोजगारको डरलाग्दो जमात छ । हाम्रो शिक्षा मानव जीवनसँग जोडिन सकेन । यो व्यवहार र सीपसँग जोडिएर अघि बढ्न भरखर सुरु गर्दैछ । माननीय शिक्षा मन्त्रीज्यूले पनि शैक्षिक सुधारका निक्कै राम्रा कामहरुको सुरुवात गर्नुभएको छ । त्यसलाई आत्मसात गरेर अगाडि बढ्न जरुरी छ र सबैभन्दा महत्वपूर्ण कुरा शिक्षालाई सीपसँग जोड्नु पर्दछ । त्यसका लागि प्राविधिक शिक्षा नै एकमात्र विकल्प हो । यदि प्राविधिक शिक्षा प्रदान गर्न सकियो भने मान्छे रोजगारीसँग जोडिन्छ । अनिमात्र हाम्रो समाजका तमाम समस्या समाधानउन्मुख हुँदै जान्छन् । नेपालमा अहिलेको अवस्था हेर्ने हो भने १३ प्रतिशत मात्रै प्राविधिक धारका विषयहरु पढ्न पाउने अवस्था छ । यसलाई ७५ प्रतिशतसम्म पु¥याउने सरकारको लक्ष्य छ, त्यसलाई मात्रै कार्यान्वयन ग¥यो भने नेपालको शिक्षा प्रणालीमा धेरै सुधार हुन्छ । त्यसपछि उद्यम र रोजगारीलाई बढावा दिँदै मुलुकको समृद्धिसम्म पुग्न हाम्रो शिक्षाले मद्दत गर्नेछ ।

प्राविधिक धारका विषयहरू पढ्न नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुप्राविधिक शिक्षालय नै किन ? अन्यत्र पनि त प्राविधिक कलेज छन् नि ?
नरबहादुर कर्माचार्य नेपाली समाजको रुपान्तरणका लागि आफ्नो सम्पूर्ण जीवन खर्चिनुभएका एक सादगी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुनुहुन्छ । यो प्रतिष्ठान उहाँको स्मृतिमा उहाँले हिजोदेखेका गरिब, भोका–नाङ्गा जनताको मुक्तिको सपनालाई साकार पार्दै नेपाली समाजको रुपान्तरणमा योगदान पु¥याउँदै सेवा गर्न स्थापित संस्था हो । यसले नाफाका लागि काम गर्दैन । न्यूनतम् लागत र सस्तो शुल्कमा प्राविधिक विषयको अध्यापनको अभियान थालेको छ । पढाइमा अति तेज तर आर्थिक रुपमा अति विपन्नले पनि यहाँ छात्रवृत्तिमा पढ्न पाउँछन् । पैसा नै नहुनेलाई स्रोत जुटाएर निःशुल्क प्राविधिक शिक्षा दिने काम हामीकहाँ हुन्छ । अहिले पैसा छैन तर, पढेर कमाएर पढ्दा लागेको लागत तिर्छु, जसबाट आफूजस्तै अर्काे विद्यार्थीले पनि पढ्न पाओस् भन्नेहरुलाई पनि हामीले पढाउने व्यवस्था मिलाउँदैछौं । र निकट भविष्यमै असहाय, विपन्न आदि जस्ता कोषहरुको स्थापना गरी गरिब, तीक्ष्ण दिमाग र सम्भावना भएका विद्यार्थीहरुलाई प्राविधिक विषय पढाउने हाम्रो अभियान छ । त्यही भएर पनि विद्यार्थीहरुले यो प्रतिष्ठानलाई रोज्नु पर्दछ भन्ने लाग्छ ।