भण्टाबारी/ सप्तरीको दौलतपुर नगरपालिका–३ स्थायी घर भएकी १८ वर्षीया विपना चौधरी पढ्नका लागि लहानमा कोठा लिएर बस्दै आएकी छन् । कक्षा ११ मा अध्ययनरत उनी त्यहीँ कम्प्युटर कक्षा पनि लिन्छिन् । सँगै बस्दै आएकी एक साथीले भीमनगरमा पूजामा गए पैसा पाइने तर, त्यसका लागि शरीरको उचाइ नाप्नुपर्ने कुरा विपनालाई सुनाइन् । सुरु–सुरुमा त विपनाले त्यसो गर्न आनाकानी गरिन् तर, पछि राजी भइन् । खोजेअनुसार उचाइ भएकी विपनालाई तस्करहरूले एकदिन ‘बाबाको पूजा छ, भीमनगर जानुपर्छ’ भनेर फकाए ।

विपना साथीको प्रलोभनमा फस्दा आफू झण्डै मृत्युको मुखमा पुगेको बताउँछिन् । पक्राउ परेकामध्ये कसैलाई पनि नचिनेको बताउने उनले साथीले पूजामा सहभागी हुनुपर्छ भनेपछि आफू तिनीहरूको सम्पर्कमा आएको बताइन् ।

आफू बाहिर बस्दै आएकोले घरपरिवारलाई आफू यता आएको बारे जानकारी नभएको विपनाको भनाइ छ । लहान बस्दै आएकी विपनालाई उनका साथीमार्फत् सुचिनकला चौधरीले फकाएको अनुसन्धानबाट खुलेको छ । सुचिनकलालाई भने सुरुमा सविता दासले फकाएको र सवितालाई साहिल मन्सुरी र सविताका भिनाजु जीवछ साहले एकदिन पूजामा सहभागी भए बापत १–२ लाख दिन्छौं भन्दै फकाएको अनुसन्धानबाट पत्ता लागेको छ ।

भारतको भीमनगरमा हुने पूजामा गएपछि १–२ लाख दिन्छौं भनेपछि आफू उनीहरूसँग भारत जान राजी भएको पक्राउ परेकी सुचिनकलाले प्रतिक्रिया दिइन् । चोरबाटो हुँदै भारतमा ‘बलि चढाउन’ लाँदै गरेको अवस्थामा गतहप्ता बुधबार युवतीको उद्धार गरिएको थियो ।

बलि दिने उद्देश्यले विपनालाई लैजाँदै गर्दा सप्तरीको अग्निसाइबर कृष्णसवरण गाउँपालिका–४ का २९ वर्षीय साहिल मन्सुरी, सप्तरीको शम्भुनाथ नगरपालिका–७ का २२ वर्षीया सुचिनकला चौधरी र सिरहाको लहान नगरपालिका–१९ का ३२ वर्षीय जीवछ साह पक्राउ परेका थिए ।

बलि दिने उद्देश्यले लाँदै गरेका तिनीहरू कोशी गाउँपालिका–८ स्थित सीमाक्षेत्रबाट पक्राउ परेका हुन् । यसैगरी त्यही दिन पक्राउ परेकी सुचिनकलालाई भेट्न आउँदा उनका साथी शम्भुनाथ नगरपालिका–८ की १९ वर्षीया सविता दाससमेत पक्राउ परिन् । पक्राउ परेकाहरू सुनसरी प्रहरीको नियन्त्रणमा छन् ।

योजनाकार विजय पक्राउ
नेपालबाट ‘बलि दिने’ उद्देश्यले युवतीलाई भारततर्फ लाँदै गर्दा पक्राउ परेका साहिल, जीवछ, सुचिनकला र सविताले सहयोगीको भूमिका खेलेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मुख्य योजनाकार अझै फरार रहेको प्रहरी स्रोतले जनाएको छ । यसैबीच योजनाकारमध्येका एक सप्तरी अग्निसाइबर कृष्णसवरण गाउँपालिका–५ जण्डोलका अन्दाजी ३८ वर्षीय विजय विक पक्राउ परेका छन् । उनलाई सोमबार राति भारतको मधुवनी जिल्लाबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

विजय विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले समेत पुष्टि गरेका छन् । पक्राउ परेकाहरूको बयानका आधारमा विजयलाई पक्राउ गरी थप अनुसन्धानका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको छ । विजय योजनाकारमध्येका एक भएको र मुख्य योजनाकारसहित थपको खोजीकार्य भइरहेको बताइएको छ ।