भद्रपुर । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बिओपी स्थापनालाइ तीब्र बनाएको छ । सरकारको स्वीकृत बमोजिम यसबर्ष प्रदेश १ मा २२ वटा बिओपी स्थापना गर्ने योजना बनाएको हो । प्रहरीले जिल्लाको कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीमा १० औं बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।

पाठामारीमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका डिआइजी वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सीमा अतिक्रमण रोक्नुका साथै सीमा सुरक्षालाई थप बलियो बनाउने उदेश्य राखेर स्थापनालाइ तीब्र बनाइएको डिआइजी दाहालले बताए । यसबर्ष २२ वटा बिओपी स्थापना गर्नु पर्नेमा पाँच वटा स्थापना भइसकेको उनले बताए ।

कचनकवल गाउँपालिकाले पाठामारी बजार क्षेत्रको सरकारी जमिनमा अस्थायी रुपमा बोर्डर आउट पोष्ट निर्माण गरिएको उनको भनाइ छ । ५० जना सशस्त्र प्रहरी अटाउने क्षमता भएको टिनाले बनाएको तीन वटा टहरा गाउँपालिकाले आफ्नै लगानीमा बनाइदिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्ने, सीमा अतिक्रमण र अवान्छित गतिविधि रोक्ने सरकारको निती अनुसार जिल्लामा बिओपी स्थापना भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।

इन्सपेक्टरको कमाण्डमा पाठामारी बिओपीमा ५० जना सशस्त्र प्रहरी तत्काल खटाइने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका एसपी रमेश कुमार पाण्डेले बताए । १४४ दशमलव २ किलोमिटर खुल्ला सिमा क्षेत्रमा १८ वटा बिओपी यस बर्ष स्थापना गरिने उनले जनाए ।

ज्यामिगढी, तिरिङ, नकलवदा, सत्तिघटा, पन्थापाडा, महेशपुर, आँपगाछीमा बिओपी स्थापना हुने एसपी पाण्डले बताए ।
कचनकवल गाउँपालिका ५ का वडा अध्यक्ष महेशलाल गणेश, प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी बल ३८ गण हे.क्वा. का दमकका एसपी सुभाष भण्डारी , डिएसपी प्रेम भण्डारी लगायतको उपिस्थती रहेको थियो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा सशस्त्रले १३६ वटा अस्थायी पोस्ट निर्माण गरेको थियो । अधिकांश पोस्ट नदी किनार, पैनी, खेतमा राखिएकोले बर्षा र डुबानलाई मध्यनजर गरी हटाइएको उनले बताए ।

अहिले ३९ वटा अस्थायी पोस्ट रहेको उनको भनाइ छ । पहिला एउटा पोस्टमा तीनदेखि पाँच जना बस्दै आएकोमा अहिलेको पोस्टमा कम्तीमा १५ जना राखिएको उनले जानकारी दिए ।