विराटनगर । चिकित्सा क्षेत्र सुधारको माग राखेर आमरण अनसनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै युवाहरूले विराटनगरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

‘जागौ विराटनगर अभियान’ नामक युवाहरूको समूहले डा. केसीको जीवन रक्षाको माग राख्दै बुधबार ¥याली निकालेका हुन् ।
विराटनगरस्थित सनसारी माइस्थानदेखि निकालेको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरि सोही स्थानमा आएर समापन हुने बताइएको छ । 

उनीहरूले बालिका सम्झना विकको बलत्कार पछि हत्या गरिएको अभियुक्तलाई फाँसीको सजाय हुनुपर्ने माग पनि राखेका थिए ।

आमरण अनसनमा रहेका केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर भएको छ र कुनैपनि दिन परिस्थिति गम्भीर बन्नसक्ने भन्दै यस अघि विराटनगरका २२ जना नागरिक अगुवाहरुले संयुक्त अपिलमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

विराटनगरका नागरिक अगुवा, बुद्धिजीवी, सामाजिक व्यक्तिहरु र मानव अधिकारकर्मीहरुले अपिल जारी गरेका हुन् । अपिल जारी गर्नेहरुमा तोरेन्द्रमानसिंह प्रधान, राधाप्रसाद घिमिरे, प्रा.कृष्ण पोखरेल, दिनेश श्रेष्ठ, सोमराज थापा, विश्वनाथ रिजाल, मोहन भण्डारी, डिकप्रसाद घिमिरे, डा. फरवार्ड सिलवाल, रामबावु दाहाल, मधु पोखरेल, डा. सम्झना प्रधान र मीनाकुमारी जोशी छन् । यस्तै भैरव रिजाल, राकेश मिश्र, सत्तार अन्सारी, भक्तिमान धिमाल, बासुदेव नेउपाने, उत्तम ढुंगेल, मंजिता उपाध्याय र सीता शर्मा दाहालले जारी गरेको अपिलमा विभिन्न सरकारका समयमा केसीसँग गरिएका सम्झौताको पूर्ण कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

सरकारले सम्झौता कार्यान्वयन नगर्दा केसी अनशन जस्तो कठोर बाटो अपनाउन बाध्य भएको भन्दै उनीहरुले डा.केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरु सम्बोधन गर्न माग गरेका छन् ।