धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानमा चौथो सेमेस्टरमा अध्ययरत विभिन्न सङ्कायका विद्यार्थीहरूले परीक्षा तत्काल गर्न दबाव दिँदै ज्ञापन पत्र बुझाएका छन् ।

व्यवस्थापन, मानविकी, र शिक्षा सङ्कायका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन् । विद्यार्थीहरूले दुई सूत्रीय माग राख्दै क्याम्पस प्रमुख भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै मागप्रति बेवास्ता गरे अनिश्चितकाली तालाबन्दीसम्म गर्ने चेतावनी दिएका छन् ।

त्रिविले चैत ६ गतेदेखि सबै सङ्कायको परीक्षाको मिति तय गरेको थियो । तर, अचानक सरकारले कोरोना महामारीको त्रास देखाउँदै अन्य परीक्षा समेत रद्द गरेपछि त्रिविको डिन कार्यालयले परीक्षा रद्द गरेको घोषणा गरेको थियो । त्यसयता परीक्षाका लागि चासो नदेखाएको भन्दै ज्ञापन पत्र बुझाइएको मानविकी अन्तर्गतका विद्यार्थी सुरेन्द्र घिमिरेले बताए । उनले त्रिविले तत्काल परीक्षा गर्ने वातावरण नबनाएमा सम्बन्धित क्याम्पसमा तालाबन्दीसहित त्रिविको डिन कार्यालयमै अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएको बताए ।

करिब ४० भन्दा बढी विद्यार्थीहरू सहभागी भएर ज्ञापन पत्र बुझाएका थिए । त्रिविले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै तत्काल परीक्षा गर्ने वातावरण मिलाउन क्याम्पसले पहल गर्नुपर्ने अर्का विद्यार्थी कुन्दन अधिकारीले बताए । उनले अन्य विश्वविद्यालयले वैकिल्पक तथा अनलाइनमार्फत परीक्षा दिने मिति तय गरिसक्दा पनि देशकै जेठो विश्वविद्यालयले परीक्षा गर्नमा ध्यान नदिनु विद्यार्थीमाथि गम्भीर खेलवाड गरेको बताए ।

पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलगायतले परीक्षाको मिति तय गरिसकेका छन् । तर, त्रिविले हालसम्म वैकल्पिक तथा अनलाइनमाध्यमबाट परीक्षा गर्ने वातावरण तयार गर्न माग गरिएको छ । दुई सूत्रीय मागमा अनलाइन तथा वैकल्पिक माध्यमबाट परीक्षा गरिनुपर्ने, र त्रिविले आङ्गिक क्याम्पसहरूलाई नै परीक्षा गर्ने अधिकार दिइनुपर्ने उनले बताए ।

यता क्याम्पस प्रमुख भण्डारीले विद्यार्थीहरूको मागलाई गम्भीर रूपमा लिँदै तत्कालै डिन कार्यालयलाई जानकारी गराइने बताए । उनले विद्यार्थीको माग जायज भएकाले विद्यार्थीको आवाजलाई तत्कालै त्रिविमा पु¥याइने बताए । उनले दशैं अगाडि परीक्षा हुने वातावरण नभएकाले कम्तीमा त्रिविले परीक्षाको मिति तय गर्नका लागि आफूहरूले पनि बारम्बार त्रिविलाई जानकारी गराइरहेको बताए ।