दमक/ झापाको दमक–२ को सनराइज इङ्लिस बोर्डिङ स्कुलमा अध्यापन गर्दै आएकी उर्मिला बास्कोटाले लकडाउनअघिकै तलब पाएकी छैनन् ।

माघदेखिको तलब पाउन नसकेकी उनलाई अहिले दैनिक गुजारा गर्न नै समस्या भएको छ । पटक–पटक ताकेता गर्दा पनि आफ्नो पारिश्रमिक पाउन नसकेको उनले गुनासो गरिन् । उनको मासिक तलब २३ हजार रुपैया रहेको छ । दमक–५ मा भाडामा बस्दै आएकी उनले ६ महिनाको भाडा तिर्न नसकेको बताइन् । उनका १ छोरा र १ जना छोरी पनि छन् । उनीहरूलाई पेटभरि खुवाउनसमेत समस्या भएको उनले बताइन् । लकडाउन अघिसम्मको विद्यालयले अभिभावकबाट शुल्क उठाएको थियो ।

तर, त्यो समयको पनि पैसा नपाउँदा उनी दुःखित बनेकी छन् । यस विद्यालयमा १७ जना शिक्षकहरूले अध्यापन गराउने गरेको र कसैले पनि काम गरेको पूरै तलब नपाएको गुनासो गरेका छन् । यता विद्यालयका सञ्चालक जनार्दन मैनालीले शिक्षकहरूले एकै पटक सबै तलब माग गरेकोले दिन समस्या भएको बताए । तत्काल विद्यालयको आम्दानीको स्रोत नभएका कारणले गर्दा शिक्षकहरूलाई तलब दिन नसकेको बताए । विद्यालयका बस चालक, सह–चालक तथा अन्य कर्मचारीको हकमा लकडाउनको अवधिमा केही खाद्यान्न सहयोग गरेर चुलो निभ्ने अवस्था आउन नदिएको उनले बताए ।

झापाकै कमल गाउँपालिकास्थित हिमाली इङ्लिस बोर्डिङ स्कुलका शिक्षकहरूले पुष महिनादेखि तलब पाएका छैनन् । ७ सयभन्दा बढी विद्यार्थी रहेको विद्यालयले सञ्चालकको बेइमानीका कारण आफूहरूले तलब नपाएको शिक्षकहरूले बताए । सोही विद्यालयमा अध्यापन गराउने साहित्यकार शङ्कर चापागाईं (धनकुटे कान्छा) का अनुसार सञ्चालकले आफ्नो क्षमता देखाएर काम गर्न नखोज्दा अवस्था यस्तो भएको बताए । निजी विद्यालयका शिक्षकहरूले पनि सरकारलाई १ प्रतिशत कर तिर्ने गरेको तर राज्यले समेत वास्ता नगरेको उनको गुनासो छ । शिक्षा र स्वास्थ्य सरकारको मातहतमा नरहेसम्म यस क्षेत्रमा देखिएको बेथिति र ‘मोनोपोली’ अन्त्य नहुने उनले बताए ।

विकल्पसहितको सम्झौता
झापामा निजी क्षेत्रबाट सञ्चालन भएका करिब ४ हजार विद्यालयहरू छन् । यसमा करिब ४ हजार शिक्षक तथा कर्मचारीहरू आश्रित रहेको संस्थागत शिक्षक युनियन (इस्टु) झापाले जनाएको छ । लकडाउन अघिको समयमा तलब नदिने विद्यालयका सञ्चालक तथा व्यवस्थापन पक्षसँग पटक–पटक वार्ता गरेको इस्टु झापाका अध्यक्ष होमराज खतिवडाले बताए । उनले निजी विद्यालयका सञ्चालकहरूको सङ्गठन प्याब्सन, एनप्याब्सनसँग विभिन्न विकल्पसहितको सहमति गरेको बताए ।

तत्कालै चाडपर्व आएकोले एक महिनाको तलब र एक महिनाको तलब बराबरको दशैँखर्च उपलब्ध गराउने, त्यसपछि बाँकी रहेका महिनाको तलब विद्यालय सञ्चालन भएपछि उनीहरूले पाउने मासिक तलबमा हरेक महिना ५–५ हजार वा सकेजति थप्दै लकडाउन अवधिको तलब उपलब्ध गराउने, यदि त्यसो पनि गर्न नसक्नेले ती शिक्षकहरूको कोषमा त्यो तलब जम्मा गरिदिने र त्यो शिक्षकले अवकास पाएको वा विद्यालय छोडेको दिन एकमुष्ठ दिने, यसो गर्दा सबै शिक्षकलाई एकैसाथ सबै पैसा पनि दिन नपर्ने सहमति भएको छ ।