इटहरी । इटहरीमा समुदायस्तरमै कोरोनाको सङ्क्रमण देखा पर्ने क्रम बढ्दो छ । समुदायस्तरमा पहिलोपटक इटहरी उपमहानगरपालिकाका एक जना इञ्जिनियरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पीसीआर चेकजाँच बढाएसँगै सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दो छ ।

इटहरीमा दैनिकजसो कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको इटहरी अस्पतालले जनाएको छ । इटहरीमा अहिलेसम्म २ सय ६८ जना कोरोना सङ्क्रमित भइसकेका होम आइसोलेसन अनुगमन तथा व्यवस्थापन समितिका सदस्य रामकुमार धमलाले बताए ।

अहिलेसम्म ६५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ४ हजार ३ सय ४६ जनाको स्वाब टेष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा अहिलेसम्म २६ जनालाई कोरोना सङ्क्रमण भइसकेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले केही प्रहरी निको भइसकेका र केही निको हुने क्रममा रहेको बताए । सतर्कता अपनाउँदा अपनाउँदै प्रहरी पनि सङ्क्रमित भएको उनी बताउँछन् ।
 

दैनिकजसो पाँचदेखि ७ जनामा कोरोना सङ्क्रमण देखिने गरेको इटहरी अस्पतालको तथ्याङ्कले देखाउँछ । जनस्तरमा सर्वसाधारणको खेलाँचीको कारणले पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्थानीय बताउँछन् । सर्वसाधारणको अटेरी पनले इटहरीमा कोरोना सङ्क्रमणको दर बढ्दो रहेको इटहरी अस्पतालले जनाएको छ ।

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले सतर्कताकासाथ व्यापार–व्यवसाय सञ्चालन गर्न व्यापारीहरूलाई आग्रह गरेका छन् । उनले बिहान १० बजेसम्म मात्र पसल खुला हुँदा भीडभाड बढेको भन्दै बिहान १० बजेदेखि ५ बजेसम्म व्यवसाय सञ्चालन गर्न माग गरेका छन् । अधिकतम् सुरक्षा सतर्कता अपनाउन उनले व्यापारीहरूलाई अपिल पनि गरेका छन् ।

आइसोलेसन वार्ड पाँच दिनमा तयार हुँदै
कोरोना सङ्क्रमणमा परेकाहरूलाई प्रदेश १ सरकारको सहयोगमा इटहरी उपमहानगरले धमाधम आइसोलेसन वार्ड बनाउन थालेको छ । इटहरी–९ स्थित इटहरी रङ्गशालामा निमार्णाधीन सय शøयाको आइसोलेसन वार्ड निर्माणको कामले तीव्रता पाएको हो ।

इटहरीमा बढी जनसङ्ख्या भएकोले सङ्क्रमणको दर समेत बढ्न सक्ने भन्दै आइसोलेसन वार्ड निर्माणमा तीव्रता दिएको इटहरी–९ का वडाध्यक्ष तथा निर्माण संयोजक भूपेन्द्र बरालले जनाए । बरालले भने, ‘म अहोरात्र आइसोलेसन बनाउन खटिरहेको छु ।

अहिले खानेपानी तथा बाथरुम र शौचालय निर्माणको कामलाई प्रथामिकता दिएर काम गरिरहेका छौं ।’ आइसोलेसन वार्डमा फ्रि वाईफाईका साथै बिजुलीका पोलहरू लैजाने कामसमेत भइरहेको बरालको भनाइ छ । ५ दिनभित्र आइसोलेसन वार्ड तयार भइसक्ने बताइएको छ ।

सर्वसाधारणको अटेरीपन
आइतबार इटहरी उपमहानगरपालिका अगाडि युरिया मल लिन आउनेहरूले सामान्य सुरक्षासमेत नअपनाउँदा केहीबेर तनाव उत्पन्न भएको छ । मल लिन आएकाहरूले भौतिक दूरीसमेत कायम नगरी हो–हल्ला गर्दा प्रहरी नै परिचालन भएको थियो ।

करिब दुई सयको सङ्ख्यामा एकै ठाउँ जम्मा भएका किसानले मल नपाएको भन्दै हो–हल्लासमेत मच्चाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । सर्वसाधारणले प्रशासनको निर्णय नटेर्दा कोरोना सङ्क्रमण समुदायमा बढ्दै गएको देखिन्छ ।