धरान/ सरकारले गरेको लकडाउनको अवधिमा विद्यार्थीहरूसँग ५० प्रतिशत शुल्क लिने निर्णयको विरोध गर्दैै नेपाली काङ्गे्रस निकट नेपाल विद्यार्थी सङ्घ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रमुख दामोदर भण्डारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयबाट एक साताअघि लकडाउनको अवधिमा सेमेस्टर प्रणालीमा अध्ययनरत विद्यार्थीहरूलाई ५० प्रतिशत शुल्क लिन परिपत्र गरेको थियो । सोही परिपत्रअनुसार क्याम्पस प्रशासनले बिहीबार र शुक्रबार विद्यार्थी सङ्गठनहरू समेतलाई राखेर छलफल गर्दै निर्णय गरेको थियो ।

जसमा नेविसङ्घले छलफल बहिस्कार गरेको थियो । यता नेकपा निकट अखिलले भने क्याम्पसको निर्णयप्रति आपत्ति प्रकट गरेको थियो । क्याम्पसले डिन कार्यालयको परिपत्रअनुसार अनलाइन कक्षा सञ्चालनबापतको ५० प्रतिशत शुल्क लिएर अध्यापन गराउने निर्णय गरेको परीक्षा शाखाका मुख्य कार्यालय सहायक भूपराज रिजालले जानकारी दिए । सोही विषयमा क्याम्पसको निर्णयप्रति आपत्ति प्रकट गर्दै तालाबन्दी गरेको उनले जानकारी दिए ।

तालाबन्दीमा उत्रिएको नेविसङ्घले तत्काल निर्णय सच्याउनका लागि मागसमेत गरेको छ । आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई हालको अवस्थामा ५० प्रतिशत शुल्कसमेत नलिनका लागि आग्रह गरिएको छ । नेविसङ्घ क्याम्पस इकाईका वरिष्ठ उपाध्यक्ष दोर्ची शेर्पाले भने, ‘अहिलेको अवस्थामा अभिभावक नै जर्जर छन्, यस्तो अवस्थामा कसरी हुन्छ अध्यापनलाई निरन्तरता दिऔं, शुल्कको कुरा नउठाऔं भनेका हौं । तर, क्याम्पसले ५० प्रतिशत शुल्क लिने कुरा गरेकाले तालाबन्दीमा उत्रिन बाध्य बनेका हौं ।’

उनले निर्णय नसच्याइञ्जेलसम्म तालाबन्दी यथावत् राखिने समेत दाबी गरे । क्याम्पसले चाँडै नै सबै पक्षलाई बोलाएर छलफल गर्दै निर्णय निकाल्ने तयारी गरेको छ । सरकारले चैत ११ गतेदेखि कोरोना महामारीका कारण लकडाउन गरेपछि क्याम्पसहरूमा अध्यापन हुन सकेको छैन । क्याम्पसले अनलाइनमार्फत् नै अध्यापन गरेको थियो ।