पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे २ मा शनिवार एकजना पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको छ ।
स्थानीय देवीगञ्जका ६५ वर्षीय पुरुषमा शनिवार मृत्यु भएपछि तत्काल कोरोनाको पीसीआर जाँचमा कोरोना पोजेटिभ देखिएको हो । उनी विरामी भएर १० दिन अघि न्यूरो अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका थिए । त्यो बेला जाँच गर्दा उनमा कोरोना देखिएको थिएन । ज्वरो आएर उपचारका लागि लगेका उनको आज मृत्यु भएपछि कोरोना जाँच गर्दा पोजेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताए । नेपाली सेनाको टोलीले शवको दाहसंस्कार गरेको छ । यसखाले घटना नगरको यो पहिलो हो ।
विराटनगरस्थित प्रदेशको कोभिड ल्याबमा शनिबार पीसीआर परीक्षण गर्दा रिपोर्टमा कोरोना भाइरस देखिएपछि उपचारमा संलग्न उनका परिवारका सदस्य सहित ९ जनालाई तत्काललाई होम आइसोलेसनमा राखिएको छ । उनीहरुको पीसीआर जाँचको तयारी भइरहेको छ ।
साथै शनिवारको अर्काे रिपोर्टमा समुदायस्तरका ३ जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’को क्रम सुरु भएको छ । समुदायका ३ तथा क्वारेन्टिनमा रहेका ४ गरी ७ जनामा कोरोना पोजेटिभ देखिएको रिपोर्ट शनिवार आएको हो । समुदायस्तरका तिनै जना वडा नम्वर १ का हुन् भनें क्वारेन्टिनमा रहनेमा १ नम्बरका २ जना, २ का १ र १० का १ जना रहेको रिपोर्टमा उल्लेख छ ।
एकैचोटी आएको संक्रमितको यो संख्या नगरको अहिलेसम्मकै बढी हो ।
नगर प्रमुख दिलीपकुमार राईले संक्रमितको संख्या बढेको तथा मृत्यु भएको एकजनामा समेत कोरोना देखिएपछि अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेका छन् । यस अवस्थामा जारी लकडाउनलाई नगरवासीले पूर्णरुपमा पालना गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको उनले उल्लेख गरे । यसअघि ८ जनामा संक्रमण देखिएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् ।