धरान/ फिल्म अभिनेत्री तथा मोडल रेखा लिम्बूले केही व्यक्तिले एउटा अश्लील भिडियोमा आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएकी छन् ।

उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै केही समययता सामाजिक सञ्जालमा देखिएको एउटा अश्लील भिडियोमा अनुहार मिलेको भन्दै आफ्नो नाम जोडिएपछि आफू मानसिक तनावमा परेको बताएकी छन् ।

उनले शुरुमा त्यो अश्लील भिडियो केही व्यक्तिले पठाएर अनुहार मिल्यो भने पनि आफू नभएकाले वास्ता नगरेको तर पछि धेरैमाझ म्यासेञ्जरमार्फत् फैलिएपछि स्पष्ट पार्नका लागि विज्ञप्ति निकाल्न बाध्य भएको बताएकी छन् । उनले विज्ञप्तिमा भनेकी छिन्, ‘खाएको विष पो लाग्छ तर मलाई खाँदै नखाएको विष जबर्जस्ती खुवाएर मेरो चरित्र हत्या गर्न खोजिँदै छ ।’

रेखाले आफ्नो बदनाम गर्न सामाजिक सञ्जालमार्फत् अनावश्यक भ्रम फैलाउनेहरूलाई कारबाहीका लागि साउन २ गते इलाका प्रहरी कार्यालय धरानमा साइबर क्राइम अन्तर्गत निवेदन दर्ता गराएको बताइन् । उनले प्रहरीले आफ्नो नाम जोडेर भ्रम फैलाउनेहरूलाई खोजिरहेको आश्वासन दिएको बताइन् ।

उनले आफूले चिनेकै केही व्यक्तिले समेत आफ्नो नाम जोडेर म्यासेज पठाएको पत्ता लागेको बताएकी छन् । उनले भनिन्, ‘मेरो बदनाम गर्नका लागि हुँदै नभएको आरोप लगाएर अश्लील भिडियो मेरा आफन्त, चिनेजानेका सबैलाई म्यासेज गरी पठाएको पाइएको छ । त्यसरी चरित्र हत्या गर्नेलाई कडा कारबाहीको माग गर्दछु ।’

यसैबीच नेपाल चलचित्रकर्मी सङ्घ प्रदेश नं.१ ले पनि सोमबारै प्रेस विज्ञप्ति जारी गरेर अभिनेत्री तथा मोडल रेखा लिम्बूको चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएको छ । सङ्घले सामाजिक सञ्जालको दुरुपयोग गर्दै कलाकारको चरित्रहत्या गर्ने कार्यका विरुद्ध प्रदेशका चलचित्रकर्मीहरू एक भएर लाग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सङ्घले पनि प्रहरीमा निवेदन दिइसकेको जनाउँदै दोषी पत्ता लगाएर चाँडो कारबाहीको दायरामा ल्याउन प्रहरीलाई आग्रह गरेको छ । सङ्घका अध्यक्ष अरुण प्रधान, अग्रज चलचित्रकर्मी प्रेम सुब्बा, थारु चलचित्र तथा सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष परशुराम चौधरी, अभिनेता तथा बक्सिङ खेलाडी किशोर सम्बाहाङ्फे, गीतकार मीना सिङ्गकलगायतका कलाकर्मीले हस्ताक्षर गरेको विज्ञप्तिमा कसैको भिडियोमा कसैको नाम जोडेर सामाजिक सञ्जालमा फैलाउने काम नगर्न सबैमा आग्रह गरिएको छ ।