विराटनगर । प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा कोरोना संक्रमण सामुदाय स्तरमा फैलिएपछि एसियाटिक होटलमा ६५ शैयाँको आइसोलेशन संचालनमा आएको छ ।
प्रदेश १ सरकारले मोरङ, झापा र सुनसरीको १–१ वटा होटललाई आइसोलेशन बनाउने नीतिगत निर्णाय गरेपछि विराटनगरको एसियाटिक होटललाई संक्रमित राखिने आइसोलेशन बनाएर संचालन गरिएको हो ।

आइसोलेशनमा बस्ने संक्रमितले रकम तिरेर सुविधा सम्पन्न होटलमा बनाएको आइसोलेसनमा बस्न पाउनेछन् । प्रदेश सरकारले नीतिगत निर्णाय गरेपछि आइतबार विराटनगर महानगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएपछि संचालनमा आएको होटल एसियाटिकका सञ्चालक पुण्य भट्टराईले जानकारी दिए ।

होटलको आइसोलेसन सुरु भइसकेकोले संक्रमितहरू बस्न थालेका छन् । अहिले ९ जना संक्रमित होटलको आइसोलेनमा बसेको संचालक भट्टराईले जानकारी गराए । अहिले सबेका बैंक र विद्युत प्राधिकरणका कर्मचारीहरू रहेका छन् ।

होटलको आइसुलेशनमा बस्ने संक्रमितले प्रति दिनको १ हजार १ सय रुपैयाँ तिरेर कोठामा बस्ने छन् । लन्च, ब्रेकफास्ट र अन्य खानेपिउने कुरा होटलको मेनुअनुसार हुनेछ । होटलमा आइसोलेसनमा बस्ने संक्रमितहरूलाई विराटनगर महानगरको स्वास्थ्य टोलीले परामर्श दिने विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले बताए ।

आइसोलेशनमा बसेका संक्रमितको स्वास्थ्यमा कुनै गम्भीर समस्या आएमा उसलाई महानगरकै एम्बुलेन्सबाट तुरुन्त अस्पतालमा लगिने छ । कुनै संक्रमितले कोठामा आफू एक्लै सुविधासम्पन्न हिसाबले बस्न चाहेमा त्यो त्यसको पनि व्यवस्था रहेको होटलक संचालक भट्टराईले जानकारी दिए ।

होटल एसियाटिकमा सञ्चालन गरिएको आइसोलेसन नेपालकै पहिलो होटल आइसोलेसन भएको दाबी गरिएको छ । होटल एसियाटिकमै नेपाल आयल निगम र नेपाल विद्युत् प्राधिकरणले पनि आइसोलेसनका लागि कोठा बुक गरेका छन् ।