पथरी । कोरोना भाइरस संक्रमण समुदायमा देखिएपछि मोरङको कानेपोखरी गाउँपालिकाले त्यसको रोकथाम र नियन्त्रणका लागि लकडाउनको समय थप गरेको छ ।
आइतबार गाउँपालिकामा बसेको गाउँकार्यपालिका र सर्वदलिय बैठले ७ वटै वडामा भाइरसको रोकथाम र नियन्त्रण गर्न भदौ १३ गते सम्म लकडाउन थप गरेको हो ।
खाद्य मल, भेटनगरी, औषधी पसलहरु, दुधजन्य पदार्थ र विपत व्यवस्थापन कार्य बाहेक सवै बन्द रहने छ । अन्य पालिकाको कानेपोखरी भित्र प्रवेशमा रोक लगाईएको र पालिका भित्रको मानिस पालिका बाहिर जान नपाईने बैठकले निर्णय गरेको छ ।
यस अघि गाउँपालिकाले साउन २२ गते राती १२ बजे देखी २९ गते राती १२ बजे सम्म लकडाउनको घोषना गरेको थियो । त्यस पछि फेरी तीन दिन साउन ३२ गते सम्म लकडाउन थप गरेको थियो । कोरोना भाइरस वडा नं. ३ र ४ मा एक – एकजना पुरुषमा देखा परेपछि भदौ १ गते देखि ७ गते सम्म समय थप गर्दै लकडाउन कडाई गरेको थियो ।
एक हप्ता अघि वडा नं. ३ मा एकजना पुरुषमा कोरोना पृष्टी भएपछि वडाकार्यालयले वडा सिल गरेको थियो । त्यसैगरी वडा नं. ४ मा पनि ८५ बर्षिय पुरुषमा कोरोना पृष्टी भएपछि अनिश्चितकालिन वडा शिल गरेको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लले लकडाउन अवधिभर घरमै बसेर कोरोना रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेका छन् । लकडाउन प्रभावकारी बनाउन
कानेपोखरी प्रहरी चौकी, रमाइलो प्रहरी चौकी, सशस्त्र प्रहरी बल र म्यादी नगर प्रहरीले सहित दैनिक अनुगमन गर्ने जनाएको छ ।