इटहरी/ पछिल्लो समय दिन प्रतिदिन नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दो छ ।
सङ्क्रमण दर घटाउनका लागि सरकारले कुनै पहल नगरेको धेरैले गुनासो गरिरहेका छन् । परीक्षणको दायरा बढाउँदै तीव्र र व्यापक रूपमा काम गर्ने भने पनि सरकारले कुनै पहल किन नगरेको ? जस्ता प्रश्नले स्थानीय सरकार घेरिएको छ ।
इटहरीमा भने कन्ट्याक्ट ट्रेसिङमा स्थानीय सरकारले गम्भीर लापरबाही गरेको सर्वसाधारणले आरोप लगाएका छन् । कोरोना सङ्क्रमितको आफन्त तथा सङ्क्रमितहरूले भेटेकाहरूलाई कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर टेष्ट गराउन गम्भीर हुनुपर्नेमा लापरबाही भइरहेको स्थानीयले आक्रोस व्यक्त गरे ।
कन्ट्याक्ट ट्रेसिङमा ढिलाइ हँुदा कोरोना सङ्क्रमितहरू बढ्ने भन्दै स्थानीयले खबरदारी गरेका छन् । इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठले कोरोना सङ्क्रमित भएका ठाउँमा सबैको पीसीआर परीक्षण हुन नसकेको बताए । स्वास्थ्य जनशक्ति नभएको कारण समस्या भइरहेको उनको भनाइ छ । पीसीआर रिपोर्टसमेत ढिलो आउँदा झन् समस्या बढेको उनी बताउँछन् ।
इटहरीका स्थानीय तथा नेकपाका युवा नेता सागर सुवेदीले कोरोना पोजेटिभ देखिएको परिवारमा कन्ट्याक्ट ट्रेसिङ गर्न लापरबाही भएको बताए । ‘कोरोना सङ्क्रमित परिवारको स्वाब लिने र उनीहरूलाई सहयोग गर्ने विषयमा स्थानीय सरकारले ध्यान दिएको देखिँदैन । कोरोना पोजेटिभ भएका परिवार तथा आफन्तहरूको चाँडो पीसीआर परीक्षण गर्नुको विकल्प छैन । स्थानीय सरकारले गम्भीरतापूर्वक लिनुपर्यो’ –उनले भने ।
भाइरस सर्नबाट बच्नका लागि कुनै पनि व्यक्तिको नजिक जानु हुँदैन । तर कोरोना सङ्क्रमित भएकाहरूका आफन्तहरूको कन्ट्याक्ट ट्रेसिङ ढिलो हुँदा अन्य व्यक्तिलाई पनि सर्न सक्ने भन्दै यस विषयमा गम्भीर हुन इटहरीवासीले माग गरेका छन् ।
कन्ट्याक्ट ट्रेसिङ् भनेको लक्षण देखापरेका र सम्भावित व्यक्तिमाथि गरिने परीक्षण हो । परीक्षणपछि रिपोर्ट पोजेटिभ आए उक्त व्यक्तिलाई आइसोलेसनमा राख्ने गरिँदै आएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारी भन्छन्, ‘हामीले कन्ट्याक्ट ट्रेसिङको विषयमा स्वास्थ्य शाखालाई सहयोग गर्दै आएका छौं ।’
‘पीसीआर पोजेटिभ आएका व्यक्तिहरूसँग जो–जो सम्पर्कमा आएका छन् । त्यसलाई कन्ट्याक्ट गरेर ट्रेस गर्छौं’ इटहरी स्वास्थ्य शाखाका कन्ट्याक्ट ट्रेसिङ टिमका घनश्याम सिग्देल भन्छन्, ‘तीन–तीन जनाको दुई समूह बनाएर कन्ट्याक्ट ट्रेसिङ गर्दै आएका छौं ।’ कन्ट्याक्ट ट्रेसिङ गर्न ढिला भएको सिग्देलले स्वीकार गरे । उनले भने, ‘पहिला पोजेटिभ केसहरू थिएनन्, अहिले सङ्ख्या बढ्दै गएपछि थोरै सङ्ख्याले काम गर्न समस्या भएको देखिन्छ । त्यसकारण अरू टिम बनाउने तयारी भइरहेको छ ।’
इटहरीबाट स्वाब सङ्कलन गरेकामध्ये ४९ जनाको पोजेटिभ रिपोर्ट आएको छ भने २ हजारभन्दा बढीको पीसीआर टेष्ट भएको इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।