धनकुटा/करोडौं लगानीमा निर्मित धनकुटा जिल्लाको एकमात्रै टुँडिखेल अविरल वर्षाका कारण जमिन भासिँदा लगानी खेर गएको छ ।
धनकुटा–५ मा करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको टुँडिखेल वर्षाले गर्दा भासिएको हो । खेलमैदानको माथिल्लोपट्टि सडकमा ढल निर्माण नहुँदा वर्षाको पानी पसेर टुँडिखेल भासिएको छ । करिब २ देखि ३ हजार दर्शक अट्ने खेलमैदान १९ रोपनी क्षेत्रफलमा फैलिएको छ भने प्यारापिट, कम्पाउण्डसहितको कुल क्षेत्रफल भने ३० रोपनीको हाराहारीमा रहेको छ ।
प्रदेश र स्थानीय सरकारको करोडौं रुपैयाँ लगानी खेर गएको हो । खेलमैदान निर्माणको लागि धनकुटा नगरपालिकाले आर्थिक वर्ष ०७२/७३ मा ४५ लाख, आ.व. ०७३/७४ मा ४७ लाख ६२ हजार ४ सय ६८ रुपैयाँ, ०७४/७५ मा २६ लाख ४६ हजार १ सय ७ रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
त्यस्तै प्रदेश सरकारबाट आ.व.०७५/७६ मा ५० लाख, ०७६/७७ मा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । यसअघि पनि लाखौं रुपैयाँ खर्च भइसकेको छ । तर, निर्माणको क्रममा निर्माण कम्पनीहरूको गैरजिम्मेवारीका कारण खेलमैदान भासिन पुगेको हो । टुँडिखेललाई स्तरीय र व्यवस्थित बनाउन हरेक वर्ष केही न केही भौतिक पूर्वाधारको काम भइरहेको नै छ । यस हिसाबले हेर्दा तीनै तहका सरकारले अहिलेसम्म करोडौंको लगानी गरेर निर्माण गरेको भए पनि भरपर्दो र दिगो निर्माण नहुँदा दुर्दशा भोग्नु परेको खेलकुद विकास समिति धनकुटाका प्रमुख नवीन प्रधानले बताए ।
त्यसैगरी टुँडिखेलको मञ्च अगाडिको भागमा लगाएको मेसिनरी वाल दबिएर खेलकुद विकास समितिको कार्यालय र मञ्च रहेको भवन जोखिममा परेको प्रमुख प्रधानले बताए । मञ्च अगाडिको वालसहितको जमिन दबेको कारण नयाँ भवनको भित्रबाट पानी छिर्दा जोखिमको अवस्था सिर्जना भएको र अझै वर्षा भए भवनलाई खतरा हुने भएको छ । त्यसैगरी टुँडिखेलमा निर्माण गरिएको फुटबलको स्ट्याचु पनि खेलमैदानको तल्लो भाग दबिएको कारण जेसिबीमार्फत अन्यत्र हटाइएको छ ।
यता खेलमैदानको पश्चिमपट्टि गोकुण्डे खोलाको साइडमा पहिरो गएको कारण खेलमैदान दबिएको, प्यारापिट पूरै भासिएर लडेको, खेलमैदानको भित्तामा लगाइएको कम्पाउण्ड वाल पल्टिएर करोडौंको क्षति भएको जिल्ला फुटबल सङ्घ धनकुटाका अध्यक्ष गोविन्द राईले बताए । आफूले धनकुटाको मात्रै नभएर पूर्वी पहाडको स्थापित र प्रतिष्ठित खेलमैदानको दुर्दशाको बारेमा सङ्घीय सांसद्, प्रदेश सांसद्, धनकुटा नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतका निकायहरूमा जानकारी गराइसकेको अध्यक्ष राईले बताए ।
तत्काल खेलमैदानको भित्तातर्फको कम्पाउण्ड, प्यारापिटमा क्षति कम गर्नको लागि कम्पाउण्डदेखि भित्तामा रहेको सडकको ढल व्यवस्थित गर्न जरुरी रहेको स्थानीय हरिप्रसाद गुरागाईंले बताए । उनले कम्पाउण्ड वालको भित्तामा करिब ६० मिटरभन्दा बढी लामो कालोपत्रे सडक १ मिटरभन्दा बढी भासिएको बताए । भत्किएको सडकबाट पनि पानी पस्ने, सडकको नाली व्यवस्थित नहुँदा ढलको पानी पनि खेलमैदानमै छिर्ने भएकाले दिन प्रतिदन जोखिम बढ्दै गएको गुरागाईंले बताएका छन् ।
उनले खेलमैदानको बीच भागको जमिन पनि भासिएको र त्यहीँबाट पानी छिर्ने गरेको बताए । सम्बन्धित निकायले समयमै ध्यान नदिने हो भने खेलमैदानमा वर्षौंदेखिको धनकुटेली जनताको नाममा भएको करोडौं लगानी खेर जाने भएकाले तत्काल क्षति न्यूनीकरण गर्न मर्मत सम्भारतर्फ ध्यान जान जरुरी छ ।