धरान/ जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारसम्म देशका अधिकांश भू–भागमा वर्षा हुने जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशभर वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शनिबार देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम २० दशमलव ५ र अधिकतम् तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस थियो भने सबभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम १६ दशमलव ७ डिग्री र सबभन्दा धेरै नेपालगञ्जको अधिकतम् तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस थियो ।

विभागले गरेको पूर्वानुमान अनुसार साउन ३२ गते (आइतबार) दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम् वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ भने राति देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम् वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

त्यस्तै भदौ १ गते (सोमबार) दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम् वर्षाको सम्भावना रहेको छ । प्रदेश नं. ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ भने राति देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम् वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।