पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेका जनप्रतिनिधि, पत्रकार, समाजसेवी, सामुदायिक वनका पदाधिकारी तथा स्वारेन्टिनमा रहेकाको गरी ९५ जनाको कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड अस्पताल विराटनगरको ल्याबबाट शुक्रबार विहान आएको रिपोर्टमा सवैजनाको कोरोनाको अवस्था नेगेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए ।

मोरङसहितका जिल्लामा कोरोना ह्वात्तै बढेकाले स्वाब परीक्षणको संख्या पनि बढेकाले साउन २५ गते पठाएको स्वाबको रिपोर्ट आउन केही ढिलो हुन गएको पनि उनले बताए । रिपोर्ट आउन ढिलाई हुँदा अफवाह फैलाउने तथा स्वाब दिनेहरुमा मनोबैज्ञानिक तनावसमेत सिर्जन हुन पुगेको थियो ।

गत साउन १७ गते सामुदायिक वन सम्वन्धीको एक कार्यक्रममा सहभागिमध्ये विराटनगरबाट आएका एक जना अधिकारीलाई कोरोना देखिएपछि सो कार्यक्रममा सहभागिहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा नगरपालिकाले स्वाब संकलन गरी ल्याब पठाएको थियो । जसमा स्वारेन्टिनमा रहेका २० तथा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलासहित गरी ७५ गरी कुल ९५ जनाको स्वाब पठाइएको थियो ।