भद्रपुर / कोरोना सङ्क्रमण देखिएका आम्दा मेची अस्पताल धुलाबारीका चिकित्सकले समुदायमा गएर भेटघाट गर्दा सङ्क्रमण फैलिन सक्ने जोखिम बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकाले लकडाउन घोषणा गरेको छ । बिहीबार राति १२ बजेदेखि भदौ ४ गतेसम्म लकडाउन गर्ने निर्णय गाउँपालिकाले गरेको हो ।

आम्दा मेची अस्पतालका चिकित्सक सङ्क्रमण देखिनु अगावै बुद्धशान्तिको शान्तिनगरलगायतका ठाउँ गएका थिए । त्यसक्रममा उनले धेरैजनालाई भेटेका थिए । बुद्धशान्तिका स्वास्थ्यकर्मी , सहकारीकर्मीलगायतलाई भेटेका उनले त्यहाँ गएर खाना खाएको ट्राभल हिस्ट्रीले देखाएको छ । गाउँपालिकाको ७ वटै वडामा कडाइका साथ लकडाउन कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।

उनले चिकित्सक पुगेको सहकारी संस्था बन्द गरिएको जानकारी दिए । छिमेकी पालिकाको समुदायमा कोरोना सङ्क्रमण बढेपछि बुद्धशान्ति गाउँपालिकाले पनि सात दिनका लागि लकडाउन गरेको हो । समुदायमा सङ्क्रमण फैलिएपछि यसअघि बुधबार रातिदेखि मेचीनगर नगरपालिकाले भदौ ३ गतेसम्मका लागि लकडाउन घोषणा गरिसकेको छ ।