विराटनगर/ एकै दिन मोरङका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–२ का ५५ वर्षीय र विराटनगर–५ का ५७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो ।

बूढीगङ्गा घर भएका पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र विराटनगर घर भएका पुरुषको विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

बूढीगङ्गाका मृतक श्वास–प्रश्वास र उच्च ज्वरोको समस्यापछि सोमबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका उनमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

आइसोलेसनमा उपचाररत रहेका सङ्क्रमितको अवस्था गम्भीर भएपछि भेण्टिलेटरमा लैजाने तयारी गरिरहेको बेला बुधबार बिहान १ः२० मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता सापकोटाले बताए । उनको शव मोरङको थलहाबाट गएको नेपाली सेनाको टोलीले मोरङको कानेपोखरीको जङ्गलमा अन्त्येष्टि गरेको छ । मृतकको बूढीगङ्गा गाउँपालिकामा होटल रहेको खुलेको छ । उनी होटल सञ्चालक रहेको बताइएको छ ।

यस्तै कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएका पुरुष २४ साउनमा अस्पताल भर्ना भएका थिए । दम र सुगरका बिरामी रहेका सङ्क्रमितको उपचारको क्रममा बुधबार ५ बजे मृत्यु भएको हो ।

अक्सिजन दिएर राखिएका उनको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । ‘दम र सुगरका बिरामी रहेका कोरोना सङ्क्रमित बिरामी ४ दिनदेखि कोभिड अस्पतालमा उपचाररत थिए’ डा. यादवले भने, ‘उपचारको क्रममा बुधबार ५ बजे उनको मृत्यु भयो ।’ मृतक विराटनगरस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयमा काम गर्ने कर्मचारी रहेको खुलेको छ ।

योसँगै विराटनगरमा कोरोनाको कारणले मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । विराटनगर–५ मा यसअघि पनि ७७ वर्षीय एक वृद्धाको कोशी अस्पतालमा मृत्यु भएको थियो । यसअघि विराटनगर–९ मा दुई जना र १० मा १ जनाको कारोनाको कारण मृत्यु भएको छ । यस्तै रङ्गेली–८ र सुनवर्षी नगरपालिका–८ का १–१ जना पुरुषको मृत्यु भइसकेको छ ।